EN
मेनु
Flash News

ठेकेदारबाट उपहार लिएको आरोपको लगानी बोर्डद्वारा खण्डन,भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं।लगानी बोर्डको कार्यालयले आफ्ना कर्मचारीले ठेकेदारबाट अनुचित उपहार लिएको भन्ने आरोपको खण्डन गर्दै घटनालाई गलत ढङ्गले प्रस्तुत गरिएको जनाएको छ। कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सार्वजनिक भएका प्रचार भ्रामक र तथ्यहीन रहेको दाबी गरेको हो।

कार्यालयका अनुसार असोज २९ गते पूर्वजानकारी र अनुमति नलिई मिठाइ तथा बिस्कुटका टोकरी कार्यालयमा ल्याइएको थियो। उक्त घटनालाई कर्मचारीले ठेकेदारबाट अनुचित उपहार स्वीकार गरेको भन्दै प्रचार गरिएको बोर्डको भनाइ छ।

बोर्डले बिहीबार दिउँसो २ः३० बजे प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबसहितका कर्मचारी बैठकमा रहेका बेला एक युट्युब सञ्चालक पूर्वअनुमति नलिई कार्यालय प्रवेश गरी भिडियो खिचेको जनाएको छ। सोही भिडियोमार्फत कर्मचारीले ठेकेदारबाट रक्सी, आइफोन तथा मिठाइलगायतका उपहार लिएको आरोप लगाइएको कार्यालयको दाबी छ।

कार्यालयका सहसचिव एवं प्रवक्ता भूपेन्द्र थापाका अनुसार परियोजनाका प्रतिनिधि बताउने व्यक्तिले पूर्वजानकारी र अनुमति नलिई मिठाइ तथा बिस्कुटका टोकरी कार्यालयमा ल्याएका थिए। यस्तो घटनालाई कर्मचारीले अनुचित उपहार स्वीकार गरेको रूपमा प्रस्तुत गर्नु तथ्यविपरीत रहेको बोर्डले स्पष्ट पारेको छ।

लगानी बोर्डले कर्मचारीका लागि कुनै पनि प्रकारका उपहार लिने वा दिने कार्य स्वीकार्य नहुने दोहोर्‍याएको छ। साथै, अपुष्ट तथा भ्रामक प्रचारले कर्मचारीको प्रतिष्ठामा आँच पुग्नुका साथै उनीहरूको मनोबलमा नकारात्मक असर पर्ने भन्दै यस्ता गतिविधि रोक्न आग्रह गरेको छ।

कार्यालयले तथ्यहीन प्रचार जारी रहे आवश्यक कानुनी उपचार खोज्ने चेतावनीसमेत दिएको छ। सरकारी निकायमा सुशासन कायम गर्ने अभियानप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै बोर्डले घटनालाई वास्तविकताभन्दा फरक ढङ्गले प्रस्तुत नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

स्रोत: लगानी बोर्डको कार्यालयको विज्ञप्ति