EN
मेनु
Flash News

चाडपर्वमा डिजिटल भुक्तानी सहज बनाउन वालेटमा रकम लोड गर्ने सीमा बढाइयो

काठमाडौं।चाडपर्वका बेला डिजिटल भुक्तानीमा हुने बढ्दो चापलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले मोबाइल वालेटमा रकम लोड गर्ने दैनिक सीमा बढाएको छ। केन्द्रीय बैंकको नयाँ व्यवस्थाअनुसार अब प्राकृतिक व्यक्तिले एक दिनमा अधिकतम ५० पटकसम्म वालेटमा रकम लोड गर्न सक्नेछन्।

यसअघि दैनिक अधिकतम १० पटकसम्म मात्र वालेटमा रकम लोड गर्न पाउने व्यवस्था थियो। नयाँ व्यवस्थाले दसैँ, तिहार तथा छठजस्ता चाडपर्वका बेला हुने किनमेल, दक्षिणा आदानप्रदान तथा विभिन्न सेवा र वस्तुको भुक्तानीलाई सहज बनाउने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार वालेटमा रकम लोड गर्ने पटकसम्बन्धी यो विशेष व्यवस्था असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म लागू हुनेछ।

चाडपर्वका समयमा नगदको प्रयोग कम गर्दै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्र बैंकले सर्वसाधारणलाई दक्षिणा वितरणलगायत सबै प्रकारका सम्भव लेनदेन डिजिटल माध्यमबाट गर्न आग्रह गरेको छ।

डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको अवस्थामा रकम लोड गर्न पाउने पटकको सीमा बढाइएपछि मोबाइल वालेट प्रयोगकर्तालाई चाडपर्वमा कारोबार गर्न थप सहज हुने विश्वास गरिएको छ।