EN
मेनु
Flash News

मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न,टोली ‘डाँफे’ क्रिकेट च्याम्पियन



काठमाडौं- रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको स्पोर्ट्स डे विभिन्न खेलकुद प्रतियोगितासहित सम्पन्न भएको छ।

‘व्हिस्पर’को प्रस्तुति, ‘अर्ना इनर्जी ड्रिंक’को पावर्ड बाइ र ‘निभिया’को सह–प्रायोजनमा आयोजित कार्यक्रममा प्रतियोगिताका सहभागीहरूले विभिन्न खेलमार्फत आफ्नो खेलकौशल, शारीरिक क्षमता र टोली भावना प्रदर्शन गरेका थिए।

स्पोर्ट्स डेमा क्रिकेट, दौड, स्किपिङ, ब्लाइन्ड थ्रो, फुटबल पेनाल्टी सुट र बास्केटबल गरी ६ विधामा प्रतिस्पर्धा गराइएको थियो। क्रिकेट प्रतियोगितामा सहभागीहरूलाई ‘लालीगुराँस’ र ‘डाँफे’ गरी दुई टोलीमा विभाजन गरिएको थियो। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ‘डाँफे’ विजेता बनेको हो।

क्रिकेटतर्फ अञ्जु परियार ‘बेस्ट प्लेयर’, नेहा गुप्ता ‘बेस्ट ब्याटर’ र मोनिका तामाङ ‘बेस्ट फिल्डर’ घोषित भए।

प्रतियोगितालाई थप उत्साहपूर्ण बनाउन नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी बिन्दु रावल, कविता कुँवर, सोनी पाख्रिन, मनिषा उपाध्याय र रिया शर्मासमेत मैदानमा सहभागी भएका थिए।

अन्य खेलतर्फ दौडमा सन्ध्या लामा प्रथम, अञ्जु परियार दोस्रो र शिल्पा न्यौपाने तेस्रो भए। स्किपिङमा प्रियशिखा खड्का तथा ब्लाइन्ड थ्रोमा नेहा गुप्ता विजेता बने। फुटबल पेनाल्टी सुट र बास्केटबल दुवै विधामा बिन्दु थापा राणाले प्रथम स्थान हासिल गरिन्।

आयोजक रिबन इन्टरटेनमेन्टका अनुसार स्पोर्ट्स डेजस्ता अतिरिक्त गतिविधिले प्रतियोगीहरूको आत्मविश्वास, टोलीमा काम गर्ने भावना तथा शारीरिक क्षमता विकास गर्न सहयोग पुग्नेछ।

प्रतियोगितामा सौन्दर्य र बौद्धिकतासँगै खेलकुदलगायत विभिन्न क्षेत्रमा सहभागीहरूको क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरिएको आयोजकले जनाएको छ।