काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले नेपालको पर्यटन विकासलाई प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय, सरकारी निकायको संस्थागत क्षमता अभिवृद्धि र निजी क्षेत्रसँगको निरन्तर सहकार्य आवश्यक रहेको बताएका छन् ।

![]()
४७औँ विश्व पर्यटन दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड तथा पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको सहकार्यमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले पर्यटन विकास कुनै एउटा मन्त्रालयको प्रयासबाट मात्र सम्भव नहुने बताए ।
विश्व पर्यटन दिवसमा डिजिटल प्रविधिमार्फत पर्यटन प्रवर्द्धन, विपद् व्यवस्थापन र संस्थागत क्षमता अभिवृद्धिको आवश्यकता औँल्याइयो
सरकारका विभिन्न निकायबीच प्रभावकारी समन्वय गर्दै पर्यटन क्षेत्रको विकासलाई प्राथमिकताका साथ अघि बढाउन आफूले निरन्तर जोड दिँदै आएको उनले बताए । पर्यटनसँग सम्बन्धित सरकारी संस्थाको क्षमता अभिवृद्धि गर्दै बदलिँदो पर्यटन परिवेशअनुसार सेवा प्रवाहलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
![]()
मन्त्री पौडेलले नेपालको मौलिक संस्कृति, परम्परा, जात्रा तथा पर्वहरू पर्यटनका महत्वपूर्ण आधार भएको उल्लेख गरे । पुस्तौँदेखि चलिआएका जीवन्त सामुदायिक जात्रा तथा सांस्कृतिक गतिविधिको संरक्षण र प्रवर्द्धनलाई पर्यटन विकाससँग जोड्नुपर्ने उनको भनाइ थियो ।

हिमालय नेपालको मात्र नभई यस क्षेत्रकै महत्वपूर्ण प्राकृतिक सम्पदा भएको उल्लेख गर्दै मन्त्री पौडेलले हिमाली क्षेत्रको संरक्षणसँगै त्यसको दिगो पर्यटन उपयोगमा पनि ध्यान दिनुपर्ने बताए । हिमालबाट उत्पन्न नदीहरूले यस क्षेत्रका करोडौँ मानिसको जीवनयापनमा योगदान पुर्याइरहेको उनले उल्लेख गरे ।
पर्यटन क्षेत्रसँग सम्बन्धित विद्यमान कानुन तथा नियमावलीमा देखिएका कमी–कमजोरी सुधारका लागि निजी क्षेत्रबाट प्राप्त सुझाव महत्वपूर्ण हुने मन्त्री पौडेलले बताए । पर्यटन व्यवसाय सञ्चालनको वास्तविक अनुभव निजी क्षेत्रसँग रहेको उल्लेख गर्दै उनले नीति तथा कानुनी सुधारका क्रममा निजी क्षेत्रका सुझाव समेटेर अघि बढ्ने सरकारको प्रतिबद्धता रहेको बताए ।

पर्यटनमा एआई र डिजिटल प्रविधिको बढ्दो भूमिका
कार्यक्रममा विश्व पर्यटन दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नारालाई केन्द्रमा राख्दै पर्यटन क्षेत्रमा डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगका विषयमा समेत छलफल गरिएको थियो ।
नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष पन्तले हालैको भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रले पाएको अनुभवलाई डिजिटल प्रविधिको प्रयोगसँग जोड्नुपर्ने बताए ।
भोटेकोशी बाढीका कारण लाङटाङ जाने नियमित पहुँचमार्ग तथा आवास सुविधामा क्षति पुग्दा पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको उल्लेख गर्दै पन्तले सुरक्षित पूर्वाधार, समयमै सूचना, वैकल्पिक पहुँचमार्ग र प्रभावकारी विपद् तयारी अब विकल्प नभई अनिवार्य आवश्यकता बनेको बताए ।

नेपालको भौगोलिक बनोट र स्रोत–साधनको सीमितताका कारण तत्कालै सबै क्षेत्रमा द्रुत र भरपर्दो भौतिक पूर्वाधार निर्माण गर्न कठिन हुने भन्दै उनले जोखिम न्यूनीकरणमा डिजिटल प्रविधि प्रभावकारी माध्यम बन्न सक्ने बताए ।
डिजिटल प्रणालीमार्फत पर्यटकको यात्रासम्बन्धी सूचना अद्यावधिक राख्ने, सम्भावित जोखिमबारे पूर्वसूचना दिने तथा आपत्कालीन अवस्थामा सम्बन्धित निकायबीच समन्वय सहज बनाउन सकिने उनले बताए ।
पर्यटकलाई गन्तव्यको सही र समयसापेक्ष जानकारी उपलब्ध गराउन डिजिटल माध्यमको प्रयोग बढाउनुपर्नेमा पनि पन्तले जोड दिए । पर्यटकको आवश्यकता र रुचिअनुसार भरपर्दो सूचना उपलब्ध गराएर यात्रा योजना बनाउने प्रारम्भिक चरणदेखि गन्तव्यसम्म आवश्यक जानकारी उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।
पर्यटन पुनरुत्थानमा पाटा फाउन्डेसनको सहयोग
कार्यक्रमका मुख्य वक्ता पाटा फाउन्डेसनका अध्यक्ष एन्ड्रयु जोन्सले नेपालको भौगोलिक तथा सांस्कृतिक विविधताको चर्चा गर्दै भोटेकोशी बाढीपछि नेपालको पर्यटन पुनरुत्थानका लागि पाटा फाउन्डेसनको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रकृतिमा आधारित पर्यटनलाई प्रवर्द्धन गर्न एआई र डिजिटल मिडियाको भूमिका थप महत्वपूर्ण बन्दै गएको उनले बताए ।
जोन्सले बाढीबाट प्रभावित पर्यटन क्षेत्रका श्रमिक, गाइड, चालक, पोर्टर तथा पर्यटन व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले नेपाल पर्यटन पुनरुत्थान कोष सञ्चालनमा रहेको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्य तथा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य अनुष्का श्रेष्ठ, डा. अर्जुनकुमार कार्की र मिङ्मा ग्याबु शेर्पाले पर्यटनमा प्रविधिको प्रयोग, रोजगारी संरक्षण, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सुदृढीकरण तथा पर्यटकलाई प्रमाणित र विश्वसनीय सूचना उपलब्ध गराउने विषयमा धारणा राखेका थिए ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदास पनि कार्यक्रममा उपस्थित थिइन् ।
नयाँ प्रचारात्मक सामग्री सार्वजनिक
विश्व पर्यटन दिवसका अवसरमा नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन गन्तव्य प्रवर्द्धनका लागि तयार पारेको नयाँ प्रचारात्मक श्रव्यदृश्य सामग्रीसमेत सार्वजनिक गरेको छ ।
यसै अवसरमा भिटोफ–नेपालले तीनवटा गाउँलाई ‘वर्ष गन्तव्य गाउँ’ घोषणा गरेको थियो । घोषित गाउँका प्रतिनिधिलाई मन्त्री पौडेलले प्रमाणपत्र प्रदान गरेका थिए ।
ग्रामीण पर्यटन, स्थानीय संस्कृति तथा समुदायलाई पर्यटनको मूल प्रवाहसँग जोड्ने उद्देश्यले ‘वर्ष गन्तव्य गाउँ’ घोषणा गरिएको बोर्डले जनाएको छ ।
हरेक वर्ष सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवस यस वर्ष डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्तालाई पर्यटन पुनरुत्थान, सेवा प्रवाह, सूचना, प्रवर्द्धन तथा पर्यटन व्यवस्थापनमा प्रयोग गर्ने विषयमा केन्द्रित रहेको छ ।



