काठमाडौं।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि गोरखा समाज हङकङले ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
![]()


२०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको प्राकृतिक विपत्तिका कारण मानवीय तथा भौतिक क्षति भएको भन्दै गोरखा समाज हङकङले पीडितको सहयोगार्थ हङकङमा रहेका गोरखालीहरूबाट सहयोग रकम संकलन गरेको हो।
समाजका अनुसार अभियानमा हङकङमा रहेका गोरखालीहरूको सक्रिय सहभागितामा उक्त रकम संकलन गरिएको थियो। संकलित रु. ११,११,१११ (एघार लाख एघार हजार एक सय एघार रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।


गोरखा समाज सेवा केन्द्रका अध्यक्ष महेश गुरुङ लगायत कार्यसमितिका पदाधिकारीहरूले उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उहाँकै कार्यकक्षमा हस्तान्तरण गरेका थिए।
सहयोग अभियानमा संयोजकको भूमिका निर्वाह गर्ने प्रज्ञान कार्की लगायत अभियानमा सहभागी सम्पूर्ण सहयोगदाताप्रति गोरखा समाज हङकङका अध्यक्ष रबिन गुरुङले आभार व्यक्त गरेका छन्।
समाजले विपद्को यस दुःखद् घडीमा सहयोगका लागि हातेमालो गर्ने सम्पूर्ण हङकङवासी गोरखालीलाई धन्यवादसमेत दिएको छ।





