EN
मेनु
Flash News

दुर्गा प्रसाईं पक्राउ, सांसद रचना खतिवडाले मागेकी थिइन् कारबाही

काठमाडौं।मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले सोमबार बिहान पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रसाईंलाई पछिल्ला दिनमा सार्वजनिक रूपमा दिएका अभिव्यक्तिका विषयमा सोधपुछ गर्न पक्राउ गरिएको हो । उनलाई साइबर ब्युरोले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको बताइएको छ ।

यसअघि भदौ २९ गते झापाबाट हवाईमार्ग हुँदै काठमाडौं आएका प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा कार्यक्रम गर्न खोजेका थिए । विमानस्थल परिसरभित्र कार्यक्रम गर्न नमिल्ने भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर पछि घर पठाएको थियो ।

प्रसाईंका पछिल्ला अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले कारबाहीको माग गरेकी थिइन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै खतिवडाले प्रसाईंले आफूविरुद्ध लगाएको आरोपको खण्डन गरेकी थिइन् । प्रसाईंले आफ्ना छोराको शवसँग सांसद पद साटेको आरोप लगाएको भन्दै उनले आपत्ति जनाएकी थिइन् ।

बैठकमा भावुक हुँदै खतिवडाले भनिन्, “सहिदले पूर्णरूपमा न्याय पाउँछन् भने मैले सांसद पदबाट राजीनामा दिन हिचकिचाहट हुँदैन ।”

उनले आफ्नो छोराको मृत्युको पीडालाई राजनीतिक लाभसँग जोडेर आरोप लगाइएको भन्दै दुःख व्यक्त गरेकी थिइन् ।

“मेरो संसार उजाडिएको छ । मेरो काख रित्तिएको छ । छोरा मेरो काखमा आउँछ भने पद त्याग्न तयार छु,” उनले संसद्मा भनेकी थिइन् ।

प्रसाईंका अभिव्यक्तिले आफूलाई गम्भीर मानसिक तथा भावनात्मक पीडा दिएको बताउँदै खतिवडाले सार्वजनिक रूपमा बोल्नुअघि हजारौँपटक सोच्न आग्रह गरेकी थिइन् । साथै, उनले प्रसाईंमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेकी थिइन् ।

प्रसाईं पक्राउ परेपछि उनका पछिल्ला अभिव्यक्ति, साइबर अपराधसम्बन्धी अनुसन्धान र सांसद खतिवडाले उठाएको विषय फेरि चर्चामा आएको छ ।