मेनु
Flash News

बाराको सिमरामा असोज १७ गतेदेखि ‘छैठौं जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने

निराज रानाभाट,

बारा।सिमरा भेट्रान क्लबको आयोजनामा ‘नारीको आत्म सम्मानसँगै राष्ट्र र स्वास्थ्यको लागि खेलकुद गरौँ र खेलौं’ भन्ने नारासहित ‘एक्स्ट्रीम छैठौं जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ।

प्रतियोगिता असोज १७ गतेदेखि २४ गतेसम्म बारा जिल्लाको जीतपुरसिमरा उप-महानगरपालिका -१, सिमरास्थित सिमरा रंगशालामा सञ्चालन हुने आयोजकले जनाएको छ । महिला फुटबलको विकास तथा प्रवर्द्धनसँगै महिला खेलाडीहरुलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्यसमेत प्रतियोगिताले लिएको आयोजकको भनाइ छ । प्रतियोगिताका सम्पूर्ण खेल फ्लडलाइटमा साँझ ६:०० बजेदेखि सञ्चालन हुने छन् । प्रतियोगितामा नेपालका विभागीय तथा क्लब टोलीसँगै भारतका टोली गरी ८ वटा टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, स्टार स्पोर्ट युवा क्लब (माडी,चितवन), फेयर फुटबल क्लब (धरान), कुर्साङ गोल्स फुटबल क्लब (दार्जिलिङ,भारत), झारखण्ड स्टेट स्पोर्ट्स प्रमोशन सोसाइटी (झारखण्ड, भारत) र आयोजक सिमरा भेट्रान क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उप-विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ, भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ, इमर्जिङ प्लेयरलाई ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गतको पहिलो ४ वटा खेलको ५० रुपैयाँ, सेमिफाइनलको १ सय रुपैयाँ र फाइनलको २ सय रुपैयाँ टिकट निर्धारण गरिएको आयोजकले जनाएको छ । आयोजकले टिकटबाट संकलित रकमको १० प्रतिशत रकम भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितको पुर्न:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक एक्स्ट्रीम ड्रिङ्क्स रहेको छ । जीतपुरसिमरा उप-महानगरपालिका तथा नगरका २४ वटै वडा कार्यालय मुख्य सहयोगीका रूपमा रहेका छन् । नेपाल लुब आयल, हुलास स्टील र नेपोभिट टाइल्स को-स्पोन्सरका रूपमा जोडिएका छन् । यसैगरी, जगदम्बा स्टील, मार्बी इन्जिनियरिङ, सिमरा अटो जोन, क्लासिक इन्डस्ट्रिज, हिमालयन डिस्टिलरीलगायत विभिन्न व्यावसायिक प्रतिष्ठानले प्रतियोगितामा सहयोग तथा साझेदारी गरेका छन् । बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, इन्टरनेट, बीमा, टिकटिङ, प्रसारण, प्रवर्द्धन तथा फिटनेस क्षेत्रका संस्थासमेत प्रतियोगिताका साझेदारका रूपमा जोडिएका छन् ।

आयोजक सिमरा भेट्रान क्लबले प्रतियोगितामार्फत महिला फुटबलको विकाससँगै सिमरालाई खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ । प्रतियोगिता सफल बनाउन खेलाडीहरु, स्थानीय सरकार, प्रायोजक, सहयोगी संस्था, खेलप्रेमीहरु तथा सञ्चारमाध्यमको सहकार्य आवश्यक रहेको क्लबले जनाएको छ । प्रतियोगिताले सिमरामा महिला फुटबलको रोमाञ्चक माहोल सिर्जना गर्ने अपेक्षा गरिएको छ ।