काठमाडौं।नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी कार्ड सेवामा थप २ वाणिज्य बैंक र ५ वित्त कम्पनी आबद्ध भएका छन्। नयाँ सदस्य थपिएसँगै ईएफटी कार्ड स्वीचमा आबद्ध बैंक तथा वित्तीय संस्थाको संख्या १७ पुगेको छ।
नयाँ सदस्यलाई स्वागत तथा सेवा सम्बन्धी अन्तरक्रियाका लागि एनसीएचएलले कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा २२ बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा एनसीएचएलका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।


कार्यक्रममा ईएफटी कार्ड सेवाको सञ्चालन, ग्राहकका अपेक्षा, प्रविधिमा भइरहेको विकास, कार्ड भुक्तानीको सुरक्षा तथा आगामी योजनाबारे छलफल गरिएको थियो। सहभागी बैंक तथा वित्तीय संस्थाबाट सेवा सुधारका लागि सुझाव तथा प्रतिक्रिया समेत संकलन गरिएको एनसीएचएलले जनाएको छ।
एनसीएचएलका अनुसार ईएफटी कार्ड सेवा बैंक तथा वित्तीय संस्थाका लागि उपलब्ध गराइएको केन्द्रीय कार्ड स्वीचिङ समाधान हो। यसमार्फत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड नेटवर्कका कारोबार प्रशोधन, कार्ड जारी तथा कारोबार स्वीकार गर्ने सुविधा उपलब्ध हुन्छ।
![]()
ईएफटीमार्फत सदस्य बैंक तथा वित्तीय संस्थाले भिसा र नेसनल पेमेन्ट कार्ड जारी गर्न सक्नेछन्। त्यस्तै, भिसा, मास्टरकार्ड, युनियनपे, डिस्कभर, जेसीबी, रूपे तथा नेसनल पेमेन्ट कार्डलगायतका प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड नेटवर्कका कारोबार स्वीकार गर्न सकिने एनसीएचएलले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा नेपालमा कार्डमार्फत १० खर्ब १९ अर्ब रुपैयाँ बराबरका करिब १२ करोड ९० लाख कारोबार भएका थिए। उक्त अवधिमा १ करोड ४३ लाख ३० हजार कार्ड प्रचलनमा रहेको तथ्यांक छ।
त्यसमध्ये ईएफटीमार्फत २ खर्ब ५५ अर्ब रुपैयाँ बराबरका ३ करोड २० लाख कारोबार भएका थिए। ईएफटीमार्फत जारी भएका कार्डको संख्या ३४ लाख ४० हजार पुगेको एनसीएचएलले जनाएको छ।
एनसीएचएलका अनुसार गत आर्थिक वर्षमा ईएफटीले नेपाली कार्ड बजारमा करिब २५ प्रतिशत हिस्सा ओगटेको थियो।

ईएफटीको ‘थ्रीडी सेक्योर’ सेवाले अनलाइन कार्ड कारोबारलाई थप सुरक्षित बनाउन सहयोग गर्ने एनसीएचएलले जनाएको छ। त्यस्तै, ई–कमर्स पेमेन्ट गेटवेमार्फत सदस्य बैंक तथा वित्तीय संस्थाका अनलाइन मर्चेन्टले कार्डबाट भुक्तानी प्राप्त गर्न सक्नेछन्।
हाल ई–कमर्स पेमेन्ट गेटवे सेवा ६ वटा बैंक तथा वित्तीय संस्थाले प्रदान गर्दै आएका छन् भने १ सय १५ भन्दा बढी मर्चेन्ट यसमा आबद्ध भइसकेका छन्।
एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गत ‘नेसनल पेमेन्ट कार्ड’लाई राष्ट्रिय कार्ड योजनाका रूपमा अघि बढाएको छ। ईएफटी कार्ड स्वीचलाई राष्ट्रिय भुक्तानी प्रणालीमा आबद्ध गरी नेसनल पेमेन्ट कार्ड जारी तथा कारोबार स्वीकार गर्न सक्ने व्यवस्था गरिएको छ।
यस व्यवस्थाबाट सहभागी बैंक तथा वित्तीय संस्थाले विद्यमान पूर्वाधारकै प्रयोग गरी नेसनल पेमेन्ट कार्ड जारी गर्न तथा त्यसबाट हुने कारोबार स्वीकार गर्न सक्नेछन्।
एनसीएचएलले आगामी दिनमा बैंक तथा वित्तीय संस्था, इकोसिस्टम साझेदार र अन्तर्राष्ट्रिय कार्ड नेटवर्कसँग सहकार्य गर्दै कार्ड भुक्तानीको क्षमता विस्तार गर्ने जनाएको छ। साथै, अन्तरआबद्धता तथा सुरक्षा सुदृढीकरणसँगै नयाँ भुक्तानी समाधानको प्रवद्र्धनलाई समेत निरन्तरता दिने बताएको छ।


