काठमाडौं।डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीका एक सञ्चालकका अनुसार शर्माले असोज १२ गतेदेखि इसेवाको नेतृत्व सम्हाल्नेछन्। यससँगै यसअघि सीईओ रहेका जगदिश खड्काको कार्यकाल समाप्त भएको छ।

![]()
२०७९ असोज १२ गते इसेवाको सीईओ नियुक्त भएका खड्काले आफ्नो कार्यकाल पूरा गरे पनि उनलाई पुनः सीईओमा निरन्तरता नदिने निर्णय सञ्चालक समितिले गरेको बताइएको छ।
खड्काको कार्यकालमा इसेवाको सेवा तथा संस्थागत व्यवस्थापनलाई लिएर प्रश्न उठ्दै आएको थियो। कम्पनीका केही कर्मचारीले उनको कार्यकालमा सूचना प्रविधि (आईटी) विभागका अनुभवी कर्मचारीहरू बाहिरिएको तथा संस्थागत सुशासनसम्बन्धी विषयमा समेत समस्या देखिएको दाबी गरेका छन्।

यस्तै, डिजिटल वालेटहरूको नियामकीय अवस्थाबारे नेपाल राष्ट्र बैंकले गरेको विशेष निरीक्षणका क्रममा इसेवामा समेत विभिन्न कैफियतहरू औंल्याइएको स्रोतको दाबी छ।
इसेवाको सेवा अवरोध र प्रयोगकर्ता अनुभवलाई लिएर पनि पछिल्लो समय गुनासाहरू बढ्दै गएको बताइएको छ। कम्पनीभित्रकै केही कर्मचारीका अनुसार सेवामा देखिएका समस्याका कारण केही प्रयोगकर्ता अन्य डिजिटल वालेटतर्फ आकर्षित भएका थिए।

यसैबीच, खड्काको स्थानमा नियुक्त भएका शर्मा बैंकिङ तथा डिजिटल रूपान्तरण क्षेत्रमा अनुभव भएका व्यक्ति हुन्। उनले नबिल बैंकमा लामो समय काम गरेको तथा नवप्रवर्तन र डिजिटल प्रविधिसँग सम्बन्धित क्षेत्रमा समेत अनुभव हासिल गरेको बताइएको छ।
इसेवाको नयाँ नेतृत्वले सेवा विश्वसनीयता, प्राविधिक पूर्वाधार, ग्राहक अनुभव तथा संस्थागत व्यवस्थापनलाई कसरी अघि बढाउँछ भन्ने विषय अब चासोको विषय बनेको छ।
यस विषयमा पूर्वसीईओ जगदिश खड्काको प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिए पनि प्रतिक्रिया प्राप्त हुन सकेन।


