काठमाडौं।निखिल उप्रेतीको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘आचार्य’ले प्रदर्शनको पहिलो दिनमै दर्शकको उल्लेख्य साथ पाएको छ। असोज ९ गते शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले देशभरको प्रतिकूल मौसमका बाबजुद हलमा उत्साहजनक अकुपेन्सी कायम गरेको निर्माण पक्षले जनाएको छ।
![]()

शुक्रबार काठमाडौंसहित देशका विभिन्न स्थानमा लगातार वर्षा भइरहे पनि ‘आचार्य’ले उल्लेख्य संख्यामा दर्शकलाई हलसम्म तान्न सफल भएको दाबी निर्माण पक्षको छ। राजधानीबाहिरका दुई दर्जनभन्दा बढी हलमा चलचित्रका केही शो हाउसफुल भएको बताइएको छ।
चलचित्रले पहिलो दिनदेखि नै देशभरका विभिन्न हलमा उल्लेख्य शो पाएको थियो। शनिबारका लागि बुकिङ प्लेटफर्म खल्तीमा मात्रै ९६ शो उपलब्ध रहेको निर्माण पक्षले जनाएको छ। यसबाहेक खल्तीमा समावेश नभएका सिंगल थिएटर तथा अन्य हलमा समेत ५० भन्दा बढी शो रहेको बताइएको छ। यसअनुसार शनिबार देशभर करिब १५० भन्दा बढी शोमा ‘आचार्य’ प्रदर्शन भइरहेको छ।


पहिलो दिनको दर्शक सहभागिताबाट उत्साहित अभिनेता तथा निर्देशक निखिल उप्रेतीले खराब मौसमका बीच दर्शक हलसम्म पुग्नु नै आफूहरूका लागि ठूलो माया भएको बताएका छन्।
‘व्यापारभन्दा पनि झरीको बेला दर्शक हाम्रो लागि हलसम्म आइदिनुभएको छ। योभन्दा ठूलो माया के हुन सक्छ र?’ निखिलले भने, ‘पानीमा रुझेर काठमाडौंका अधिकांश हलमा दर्शकको उपस्थितिले मन छोएको छ। अझै साथ र सपोर्टको आशा राखेको छु।
![]()

मौसममा सुधार आएसँगै देशभरका दर्शकलाई एकपटक चलचित्र हेरेर आफ्नो प्रतिक्रिया दिनसमेत निखिलले आग्रह गरेका छन्। उनका अनुसार ‘आचार्य’मा नेपाली परिवेश र मौलिकपनसँगै एक्सनलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।
‘धेरै ठूलो अपेक्षा बोकेर आचार्य नहेर्नुस्। नेपालीपन र नेपाली परिवेशमा यति धेरै एक्सन भएको चलचित्र बनाएको छु। एकपटक एक्सनको कोणबाट हेरेर मनन गरिदिनुस्, कन्टेन्ट पनि पक्कै पाउनुहुनेछ,’ उनले भने।
पहिलो दिन दर्शकबाट प्राप्त साथले आफू उत्साहित भएको उल्लेख गर्दै निखिलले वर्षाका कारण पहिलो दिनको प्रदर्शन प्रभावित भएको अवस्थालाई समेत ध्यानमा राखेर आगामी दिनमा चलचित्रलाई साथ दिन दर्शकसँग आग्रह गरेका छन्।
‘पहिलो दिनको साथ र मायाले म उत्साहित छु। झरीका कारण पहिलो दिनको अवस्थालाई पनि ध्यानमा राखेर देशभरका सबै दर्शकलाई आचार्यलाई सपोर्ट गरिदिनुहुन अनुरोध गर्दछु,’ उनले भने।
निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको ‘आचार्य’को निर्देशन पनि निखिल स्वयंले गरेका हुन्। ट्रेलर सार्वजनिक भएदेखि नै चर्चामा रहेको चलचित्रमा निखिलको एक्सन अवतारसँगै नेपाली परिवेशमा आधारित कथालाई मुख्य केन्द्रमा राखिएको छ।


