मेनु
Flash News

सिक्किमको रिम्बीमा भीषण पहिरो,३० भन्दा बढी घर प्रभावित

एजेन्सी।नेपालसँग सीमा जोडिएको भारतको सिक्किम राज्यमा बाढी तथा पहिरोका कारण जनजीवन प्रभावित भएको छ। ग्याल्सिङ जिल्लाको रिम्बी क्षेत्रमा गएको भीषण पहिरोका कारण ३० भन्दा बढी घर प्रभावित भएका छन्।

पहिरोपछि जोखिममा रहेका कैयौँ परिवार सुरक्षित स्थानमा सर्न बाध्य भएका छन्। ठूलो मात्रामा हिलो, ढुंगा तथा माटो–मलबे बगेर आएपछि घर तथा स्थानीय सडकमा क्षति पुगेको बताइएको छ।

घटनापछि स्थानीय बासिन्दामा थप पहिरो जाने जोखिमलाई लिएर त्रास कायमै रहेको छ। पहिरो प्रभावित क्षेत्रमा सडक तथा स्थानीय आवागमनसमेत प्रभावित भएको छ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले रिम्बीमा गएको पहिरोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कठिन परिस्थितिमा सरकार प्रभावित नागरिकको साथमा रहेको बताएका छन्।

मुख्यमन्त्री तामाङले जनताको सुरक्षा र कल्याण सरकारको सर्वोच्च प्राथमिकता रहेको उल्लेख गर्दै सम्बन्धित अधिकारीलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको बताएका छन्। साथै, अवस्थाको निरन्तर निगरानी गर्दै नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै उपाय अपनाउन प्रशासनलाई निर्देशन दिइएको उनले जानकारी दिएका छन्।

रिम्बीको माथिल्लो भेगबाट ठूलो परिमाणमा हिलो, ढुंगा तथा अन्य मलबा तलतर्फ खसेपछि पहिरो गएको बताइएको छ। जमिन खस्दा र माटो तथा मलबे बगेर आउँदा केही घरमा क्षति पुगेको छ।

पहिरो प्रभावित ढलान आसपास बसोबास गर्ने स्थानीयहरू थप क्षति हुन सक्ने आशंकामा सुरक्षित स्थानतर्फ सरेका छन्। स्थानीय बासिन्दाले प्रभावित परिवारका लागि तत्काल राहत, क्षतिग्रस्त घरहरूको मूल्याङ्कन तथा जोखिमयुक्त क्षेत्रमा रहेका परिवारको सुरक्षाका लागि आवश्यक कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्।

थप पहिरो तथा माटो–मलबे बग्ने जोखिम कायमै रहेकाले प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन तत्काल समन्वय आवश्यक देखिएको छ।