काठमाडौं।मल्टिस्टारर चलचित्र ‘पाँच पाण्डव’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ।निर्माण टिमले आज बिहिबार पोस्टर सार्वजनिक गरेको हो ।
‘पाँच पाण्डव’को फस्र्टलुक पोस्टरमा पाँच पण्डव अथवा सिनेमाका मुख्य पाँच कलाकारलाई राखिएको छ।हरिवंश आचार्य, आर्यन सिक्देल,जितु नेपाल,महेश त्रिपाठी र सुशील सिटौला पोस्टरमा फिचर्ड छन् ।
पोस्टरले क्यारेक्टर रिभिल गरेको छ।पोस्टरअनुसार हरिवंश युधिस्ठिर बनेका छन्।भीम बनेका जितु नेपाल,अर्जुन बनेका आर्यन, नहकुल बनेका महेश र सहदेव बनेका सुशीललाई पोस्टरमा देख्न सकिन्छ ।
पोस्टरमा घोडाले तानिरहेको साजसज्जायुक्त बग्गीमा पाँच पाण्डव छन् । युधिस्ठिर अर्थात् हरिवंश अगाडि बसेका छन् । उनको पछाडि बाँकी चारजना उभिएका छन् । पाँचै जना प्रफुल्ल चेहरामा छन् । यसले उनीहरूबीचको एकता, मिलन र भाइचारा देखिन्छ । पाँच पाण्डवको विशेषता झल्काउने पोस्टरले दर्शकको दिमागमा यो सिनेमा र यसका पात्र रजिस्टर गराउन सफल हुने आंकलन गर्न सकिन्छ । “हामीले आज सार्वजनिक गरेको पोस्टर दर्शकले पक्कै रुचाउनु हुनेछ भन्ने हाम्रो अपेक्षा छ । क्यारेक्टर रिभिल गरेका छौँ । हामीले कतै देखिरहेका पात्र र लुक्स भएकाले यी क्यारेक्टर दर्शकमाझ चाँडै लोकप्रिय हुने र सिनेमाप्रति दर्शकको प्रतिक्षा बढ्ने हामीले विश्वास लिएका छौँ,” निर्देशक वसन्त निरौलाले भने ।
तिहारको छेको पारेर कार्तिक २० गते (नोभेम्बर ६) देखि रिलिज हुने चलचित्र पाँच पाण्डवको अहिले पोस्ट प्रोडक्सन अन्तिम चरणमा छ। यो चलचित्रको पूरै साउन्ड डल्बी एटमसमा हुनेछ । दर्शकले ‘पाँच पाण्डव’ हेर्दा फूल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने निर्देशक निरौलाले बताएका छन् ।


