बिलाम मुक्तान,
काभ्रे-नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काभ्रेको रोशी गाउँपालिका अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनले निर्वाचनभन्दा सहमति र प्रतिस्पर्धा भन्दा संगठनात्मक एकतालाई प्राथमिकता दिँदै नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
अधिवेशनको उद्घाटन सत्र गाउँपालिका सभापति दूधराज ग्लानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामा प्रमुख अतिथि तथा काभ्रे जिल्ला सभापति तीर्थ लामा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रे जिल्ला सचिव गुणराज मुक्तानले १५औँ महाधिवेशनअन्तर्गत सञ्चालन भएको ‘नेपाली कांग्रेसको जरा अभियान’ले नेताकार्यकर्तालाई स्थानीय वडा तहसम्म पुगेर प्रतिनिधि निर्माण गर्ने अवसर दिएको बताए। यस अभियानले पार्टीको संगठनलाई स्थानीय तहदेखि नै थप बलियो बनाउने उनको भनाइ थियो।
विशिष्ट अतिथि जिल्ला सभापति तीर्थ लामाले १५औँ महाधिवेशन केवल नेता र पद चयन गर्ने प्रक्रिया मात्र नभई पार्टी संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउने अवसर भएको बताए। उनले केन्द्रले रोशी गाउँपालिकाका सबै क्षेत्रीय प्रतिनिधिलाई नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय महाधिवेशनमा खुला मञ्चमा निमन्त्रणा गरेको जानकारी दिए।
आगामी स्थानीय तहको निर्वाचनलाई समेत लक्षित गर्दै सभापति लामाले रोशीको नेतृत्व सक्षम, सक्रिय र सबैखाले राजनीतिक प्रतिस्पर्धामा खरो उत्रन सक्ने हुनुपर्ने बताए।
प्रमुख अतिथि केन्द्रीय सदस्य गणेश लामाले विशेष महाधिवेशनका क्रममा विभिन्न पक्षबीच रहेको मतभेद र सहमति निर्माणका प्रयासबारे चर्चा गर्दै पार्टीलाई एकताबद्ध बनाउन निरन्तर प्रयास भएको बताए। उनले पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्न विभिन्न पक्षबीच छलफल गरिएको उल्लेख गरे।
बन्दसत्रमा रोशी गाउँपालिकाका १२ वटै वडाबाट आएका सम्पूर्ण प्रतिनिधिहरू सहभागी थिए। प्रतिनिधिहरूले समावेशी ढंगबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेका छन्।
नयाँ कार्यसमिति
सभापति: दिल दोर्जे लामा
उपसभापति: राज गौतम
महिला उपसभापति: रोजीना लामा
सचिव: सुदिप बोम्जान
सहसचिव: अमृत बल
सदस्य (युवा): कर्म सिं लामा
सदस्य (युवा): गान्दिव बुद्ध लामा तामाङ
सदस्य (युवा): मनिशा लामा
सदस्य (खुला–दलित): सुदिप विक
सदस्य (महिला–दलित): चन्द्रकुमारी विक
अधिवेशनमा संगठन सुदृढीकरण, पार्टीभित्रको एकता, सहकार्य तथा आगामी राजनीतिक गतिविधिबारे छलफल गरिएको थियो। प्रतिनिधिहरूले सर्वसम्मत नेतृत्व चयनले आपसी एकता, सहकार्य र संगठनात्मक मजबुतीको सकारात्मक सन्देश दिएको बताएका छन्।
नवनिर्वाचित सभापति दिल दोर्जे लामा तामाङले संगठनलाई थप मजबुत बनाउँदै पार्टीको नीति, विचार र कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्याउने प्रतिबद्धतासहित अधिवेशन समापन गरेका थिए।



