मेनु
Flash News

बाढी प्रभावित महिलाको पुनःस्थापना र रोजगारीमा सरकार–निजी क्षेत्र सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौं।बाढी तथा विभिन्न विपद्बाट प्रभावित महिलाको पुनःस्थापना, रोजगारी सिर्जना र महिला उद्यमशीलता प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीसँग नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) महिला उद्यमी विकास समितिकी सभापति सुनिता नेमाफुकी र FNCCI कार्यसमिति सदस्य गीता अमात्याले भेटवार्ता गर्दै प्रभावित महिलालाई आर्थिक रूपमा सबल बनाउने विषयमा छलफल गरेका हुन्।

भेटवार्तामा विपद्पछि राहतमा मात्र सीमित नरही प्रभावित महिलालाई रोजगारी, स्वरोजगार र उद्यमशीलतासँग जोड्ने विषयलाई प्राथमिकतामा राख्नेबारे छलफल भएको थियो। साथै, बाढीका कारण प्रभावित भएका महिला उद्यमी तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक सहयोग र सहजीकरण गर्ने विषयसमेत उठाइएको थियो।

प्रभावित महिलाको सीप, रुचि र आवश्यकताका आधारमा रोजगारी तथा उद्यमका अवसर सिर्जना गर्ने, व्यवसाय सञ्चालन तथा विस्तारका लागि आवश्यक सीप विकास, बजार पहुँच र व्यावसायिक सञ्जाल उपलब्ध गराउने विषयमा पनि छलफल भएको बताइएको छ।

मन्त्री बादीले विपद्बाट प्रभावित महिलाको पुनःस्थापनालाई राहत वितरणमा मात्र सीमित गर्न नहुने बताउँदै उनीहरूलाई दीर्घकालीन रूपमा आर्थिक रूपमा आत्मनिर्भर बनाउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको थियो।

उहाँले प्रभावित महिलालाई उनीहरूको क्षमता र आवश्यकताअनुसार रोजगारी वा उद्यमका अवसरमा जोड्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको थियो।

भेटवार्तामा आगामी दिनमा बाढी प्रभावित महिलाको पुनःस्थापना, रोजगारी सिर्जना, महिला उद्यमशीलता प्रवर्द्धन तथा प्रभावित व्यवसायको पुनःसञ्चालनका लागि सरकारी निकाय र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।