मेनु
Flash News

शिक्षा नियमावलीको एघारौँ संशोधन दसैँअघि टुंग्याउन मन्त्री पोखरेलको निर्देशन

काठमाडौं।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा नियमावलीको एघारौँ संशोधनको प्रक्रिया दसैँअघि नै टुंग्याउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

बुधबार मन्त्रालयका सचिवसहित उच्च अधिकारी तथा सचिवालयका सदस्यहरूसँग छलफल गर्दै मन्त्री पोखरेलले एघारौँ संशोधनको मस्यौदा तयार गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने गरी काम गर्न निर्देशन दिएका हुन्।

शिक्षा नियमावलीको दशौँ संशोधनपछि विभिन्न प्रावधानलाई लिएर सरोकारवालाबाट गुनासा तथा असन्तुष्टि आएका थिए। ती गुनासा सम्बोधन गर्ने उद्देश्यले मन्त्रालयले एघारौँ संशोधनको तयारी अघि बढाएको हो।

दशौँ संशोधनपछि विशेषगरी शिक्षक सरुवामा देखिएका प्राविधिक समस्या, विद्यालय व्यवस्थापन समितिसम्बन्धी जटिलता लगायतका विषयमा समस्या देखिएको मन्त्रालयको भनाइ छ। ती समस्या समाधान हुने गरी आवश्यक संशोधनसहितको मस्यौदा तयार गर्न मन्त्री पोखरेलले निर्देशन दिएका छन्।

यसअघि मन्त्रालयले विभिन्न सरोकारवालासँग चरणबद्ध छलफल गरेको थियो। सातै प्रदेशमा शिक्षा संवाद तथा छलफल आयोजना गरी शिक्षक, शिक्षाविद्, विद्यालय व्यवस्थापन पक्ष तथा अन्य सरोकारवालाबाट राय–सुझावसमेत संकलन गरिएको मन्त्रालयले जनाएको छ।

शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयका उच्च अधिकारी तथा विज्ञहरूको टोलीले विभिन्न स्थानबाट सुझाव संकलन गरेको थियो। केही छलफलमा मन्त्री पोखरेल स्वयं पनि सहभागी भएका थिए।

मन्त्री पोखरेलले सरकारले चालु वर्षलाई कानुन निर्माणको वर्षका रूपमा अघि बढाएको सन्दर्भ उल्लेख गर्दै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने ऐन तथा नियमावलीको कामसमेत प्राथमिकताका साथ टुंग्याउन निर्देशन दिएका छन्।

मन्त्रालयका अनुसार दशौँ संशोधनपछि देखिएका समस्या र सरोकारवालाबाट प्राप्त सुझावलाई समेटेर शिक्षा नियमावलीको एघारौँ संशोधनको मस्यौदा तयार भइरहेको छ। मस्यौदा तयार भएपछि आवश्यक प्रक्रिया पूरा गरी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी मन्त्रालयले गरेको छ।