मेनु
Flash News

जदौ’को एक्सटेन्डेड ट्रेलरमा जातीय विभेददेखि प्रेमसम्मको कथा



काठमाडौं।प्रदर्शनको मिति नजिकिँदै गर्दा फिल्म ‘जदौ’ ले दर्शकमाझ उत्सुकता बढाएको छ। फिल्मको एक्सटेन्डेड ट्रेलर सार्वजनिक भएसँगै त्यसमा समेटिएका संवाद र गीतबारे सामाजिक सञ्जालमा चर्चा हुन थालेको छ।


सोमबार सार्वजनिक करिब साढे दुई मिनेट लामो ट्रेलरमा अन्तरजातीय प्रेम, पारिवारिक असहमति, सामाजिक विभेद र प्रेमका लागि पात्रहरूले गर्नुपर्ने संघर्षलाई मुख्य विषय बनाइएको छ।

ट्रेलरमा मुकुन भुसाल र नीति शाहबीचको संवादले फिल्मले उठाउन खोजेको जातीय विभेदको विषयलाई प्रस्ट संकेत गर्छ। मुकुनले ‘म बमबहादुर, थर बर्देवा, गोत्र काश्यप… यहाँको नि?’ भन्दै परिचय माग्दा नीतिले ‘लुगा सिलाउनलाई जात र थर पनि चाहिन्छ र..?’ भन्दै दिएको जवाफ अहिले चर्चामा छ।


यस्तै, प्रभात पलले नीतिलाई ‘म बिना एक्लै बाँच्न सक्छौ?’ भनेर प्रश्न गरेपछि आउने नीतिको संवादले प्रेम र सामाजिक संरचनाबीचको द्वन्द्वलाई थप उजागर गर्छ। परिवारसामु उनले ‘बाँच्न सिक्नुपर्छ, जातको कारणले हाम्रो बिहे हुन सक्दैन रे..’ भनेको दृश्यले पात्रको भावनात्मक संघर्षलाई प्रस्तुत गर्छ।

ट्रेलरमा प्रेम सम्बन्धसँगै परिवार र समाजले सिर्जना गर्ने अवरोधलाई समेत कथाको महत्वपूर्ण पाटोका रूपमा देखाइएको छ। संवादसँगै ट्रेलरमा समेटिएका गीत र दृश्यले पनि दर्शकको ध्यान खिचेका छन्।

फिल्मले प्रेमकथामार्फत जातीय विभेद र सामाजिक सोचमाथि प्रश्न उठाउने संकेत ट्रेलरबाट गरेको छ। ‘जदौ’ले उठाएका विषय र पात्रहरूको संघर्षलाई पर्दामा कसरी प्रस्तुत गर्छ भन्ने चासो भने फिल्म प्रदर्शनसँगै थप स्पष्ट हुनेछ।