आशिका तामाङका श्रीमान् थोमस नेपाल आइपुगे, विमानस्थलमै पुगेर गरिन् स्वागत
काठमाडौं।सामाजिक अभियन्ता तथा प्रतिनिधिसभा सदस्य आशिका तामाङका श्रीमान् थोमस नेपाल आइपुगेका छन्। थोमस नेपाल आएपछि आशिका आफैँ विमानस्थल पुगेर उनको स्वागत गरेकी छन्।
थोमसको नेपाल आगमनसँगै आशिकाका समर्थक तथा शुभचिन्तकबीच चासो बढेको छ।सामाजिक सञ्जालमा उनका समर्थकहरूले थोमसलाई नेपालमा स्वागत गर्दै खुसी व्यक्त गरिरहेका छन्।

![]()
नर्सिङ अध्ययनका लागि सन् २०१४ मा जर्मनी पुगेकी आशिकाले त्यहाँ जर्मन नागरिक थोमससँग विवाह गरेकी थिइन्। उनीहरूका दुई सन्तान छन्।जर्मनीमा लामो समय नर्सका रूपमा काम गरेकी आशिकाले स्थायी बसोबास अनुमति (पीआर) समेत प्राप्त गरेकी थिइन्। उनी सन् २०२४ मा नेपाल फर्किएपछि सामाजिक अभियानमा सक्रिय हुँदै आएकी छन्।
नेपाल फर्किएपछि आशिकाले भ्रष्टाचार, महँगी तथा सामाजिक बेथितिविरुद्ध सामाजिक सञ्जालमार्फत आवाज उठाउँदै आएकी छन्। ‘एक रुपैयाँ अभियान’मार्फत पीडित तथा आवश्यकतामा परेकाहरूलाई सहयोग गर्दै आएकी उनी हालै सम्पन्न निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।

आशिकाको सामाजिक अभियानदेखि राजनीतिक यात्रासम्म थोमसले विदेशबाटै साथ र हौसला दिँदै आएको बताइन्छ। यही क्रममा उनको नेपाल आगमनलाई समर्थकहरूले पारिवारिक भेटघाटसँगै आशिकाको अभियानप्रतिको समर्थनका रूपमा समेत चासोका साथ हेरिरहेका छन्।
सामाजिक सञ्जालमा धेरैले ‘राष्ट्रिय भेना थोमसलाई नेपालमा स्वागत छ’ भन्दै प्रतिक्रिया जनाइरहेका छन्।













