लौ आयो निखिलको ‘लै बरी लै’, ‘आचार्य’मा देखिए रोमान्टिक अवतारमा – Sagarmathapana:: Online News Portal

लौ आयो निखिलको ‘लै बरी लै’, ‘आचार्य’मा देखिए रोमान्टिक अवतारमा

   २०८३ भाद्र ३० गते  

काठमाडौं।एक्सन किङको परिचय बनाएका अभिनेता निखिल उप्रेती यसपटक रोमान्टिक अवतारमा देखिएका छन्। निखिल उप्रेतीको निर्माण तथा अभिनय रहेको नेपाली फिल्म ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा निखिल उप्रेती र सजिना श्रेष्ठलाई फिचर्ड गरिएको छ। एक्सनप्रधान भूमिकामा बढी देखिँदै आएका निखिललाई गीतमा भने प्रेमिल भावमा प्रस्तुत गरिएको छ।

गीतमा निखिल र सजिनाबीचको केमेस्ट्रीलाई आकर्षक ढंगले देखाइएको छ। यसअघि पनि आफ्ना फिल्ममा एक्सनसँगै रोमान्टिक प्रस्तुतिमा देखिँदै आएका निखिलले ‘लै बरी लै’मार्फत दर्शकलाई आफ्नो फरक शैलीको झल्को दिएका छन्।
फिल्मको टिजर तथा फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै चर्चामा रहेको ‘आचार्य’को गीत सार्वजनिक भएपछि फिल्मप्रतिको दर्शक चासो थप बढ्ने अपेक्षा गरिएको छ। विशेषगरी एक्सन किङका रूपमा परिचित निखिलको रोमान्टिक अवतार गीतको मुख्य आकर्षण बनेको छ।


‘आचार्य’मा को–को छन् कलाकार?

‘आचार्य’मा निखिल उप्रेतीसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्ची, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरी तथा पूर्णिका सिजापतीलगायत कलाकारको अभिनय रहेको छ। पूर्णिका यही फिल्ममार्फत नायिकाका रूपमा डेब्यु गर्दैछिन्।
फिल्मको छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गरेका हुन्।एक्सन निर्देशन शुक्रराज शाहको रहेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका छन्।

फिल्मको लेखन, निर्माण तथा निर्देशन निखिल उप्रेतीकै रहेको छ। एक्सन, रोमान्स र मनोरञ्जनलाई समेटेर निर्माण गरिएको फिल्मले प्रदर्शनपछि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण पक्षले गरेको छ।
‘आचार्य’ असोज ९ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै