प्रतिनिधिसभा बैठक आज, परराष्ट्र र भूमि व्यवस्थासहितका मन्त्रालयमाथि प्रश्नोत्तर हुने – Sagarmathapana:: Online News Portal

प्रतिनिधिसभा बैठक आज, परराष्ट्र र भूमि व्यवस्थासहितका मन्त्रालयमाथि प्रश्नोत्तर हुने

   २०८३ भाद्र ३० गते  

काठमाडौं।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तर र महत्वपूर्ण प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।

आजको बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको छ।

त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यसैबीच, आज विभिन्न संसदीय समितिका बैठकसमेत बस्ने भएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने कार्यतालिका रहेको छ।

प्रतिनिधिसभाको बैठकमा समसामयिक विषय, मन्त्रालयगत प्रश्नोत्तर तथा अन्तर्राष्ट्रिय संसदीय संस्थासँग सम्बन्धित प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ।

समाचार स्रोत : सङ्घीय संसद् सचिवालय

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै