सातै प्रदेशमा ‘सीप तथा रोजगार मेला’ आयोजना गरिने
इटहरी।युवा श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र निजी क्षेत्रको सहकार्यमा सातै प्रदेशमा ‘सीप तथा रोजगार मेला’ आयोजना गर्ने भएको छ।

‘रोजगार प्रवर्द्धन दशक २०८३/८४–२०९२/९३’ अन्तर्गत आयोजना गर्न लागिएको मेला कोसी प्रदेशको इटहरीबाट सुरु भई क्रमशः सातै प्रदेशमा विस्तार गरिने मन्त्रालयले जनाएको छ।
![]()
![]()
मेलाको तयारीका क्रममा मन्त्रालयको टोलीले इटहरीमा सरोकारवालाहरूसँग छलफल गरेको थियो। छलफलमा सहभागी उद्योगी, व्यवसायी तथा अन्य सरोकारवालाहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको जनाइएको छ।
![]()

मेलामार्फत कृषि, नयाँ प्रविधि, कृत्रिम बौद्धिकता (एआई) तथा डिजिटल सीपलगायतका क्षेत्रमा कार्यस्थलमा आधारित तालिम प्रदान गरी युवालाई प्रत्यक्ष रोजगारीसँग जोड्ने लक्ष्य राखिएको छ।
मन्त्रालयले उद्योग तथा व्यवसायीहरूलाई आगामी पाँचदेखि छ महिनामा आवश्यक पर्ने जनशक्तिको माग विवरण उपलब्ध गराउन आग्रह गरेको छ। रोजगार बजारको मागअनुसार सीप विकास तालिम सञ्चालन गर्ने उद्देश्यले यस्तो विवरण माग गरिएको हो।

युवा श्रम तथा रोजगारमन्त्री माननीय रामजी यादवका अनुसार मेलाको मुख्य उद्देश्य आन्तरिक रोजगारीलाई मर्यादित, व्यापक र प्रभावकारी बनाउनु हो। सरकारले सीपयुक्त जनशक्ति उत्पादन गर्दै स्वदेशमै रोजगारीका अवसर विस्तार गर्न प्राथमिकता दिएको मन्त्री यादवले बताउनुभएको छ।
मन्त्रालयका अनुसार प्रदेशगत रूपमा आयोजना हुने मेलाले रोजगारदाता र रोजगारी खोजिरहेका युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।













