भोटेकोशी बाढीपीडितको राहतका लागि नाइमाले दिने भयो ५० लाख
काठमाडौं।नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
![]()
नाइमा बोर्डले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख जम्मा गर्ने निर्णय गरेको हो। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नाइमाले मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।


संघका अनुसार विपद् सुरु भएयता नाइमाका सदस्य कम्पनीहरूले आर्थिक सहयोग, यातायात तथा लजिस्टिक सहयोगलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान दिँदै आएका छन्।
नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले विपद्को समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको साझा जिम्मेवारी भएको बताइन्। उनले कठिन परिस्थितिमा सहयोग र सहकार्यका लागि नाइमा सदस्य कम्पनीहरूलाई धन्यवाद दिँदै सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्रै प्रभावकारी राहत तथा पुनःस्थापना सम्भव हुने बताइन्।

नाइमाले खोज, उद्धार तथा राहत कार्यमा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा विभिन्न संघसंस्थाप्रति समेत आभार व्यक्त गरेको छ। साथै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका अन्य सरोकारवालालाई पनि आफ्नो क्षमता र स्रोतअनुसार प्रभावित समुदायलाई सहयोग गर्न आह्वान गरेको छ।














