रसुवा–नुवाकोट–धादिङका बाढीपीडितका लागि काठमाडौं प्रशासनले माग्यो राहत सामग्री सहयोग – Sagarmathapana:: Online News Portal

रसुवा–नुवाकोट–धादिङका बाढीपीडितका लागि काठमाडौं प्रशासनले माग्यो राहत सामग्री सहयोग

   २०८३ भाद्र १३ गते  

काठमाडौं।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले राहत सामग्री संकलन गर्न आह्वान गरेको छ। कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लुगा, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामग्री सहयोग गर्न इच्छुक व्यक्ति, संघ–संस्था, कम्पनी, क्लब तथा नागरिकलाई आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार काठमाडौंमा संकलन हुने राहत सामग्री एकद्वार प्रणालीमार्फत व्यवस्थापन गरी सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा प्रभावित तथा पीडितसम्म पुर्‍याइनेछ।

राहत सामग्री सहयोग गर्न चाहने महानुभावहरूले काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवासँग सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ।

यसैगरी नगद सहयोग गर्न चाहनेहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा वा उपलब्ध QR मार्फत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ।

भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा खोज, उद्धार तथा राहत वितरणको काम तीव्र पारिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै