सीको नेतृत्वमा चीनमा उच्चस्तरीय आपत्कालीन बैठक, नेपालका बाढीपीडितलाई पनि सहयोग गर्ने तयारी
काठमाडौं।नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि चीनले उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा बाढीपछिको उद्धार तथा राहत अवस्थाबारे उच्चस्तरीय छलफल भएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले बाढीका कारण सम्पर्कविहीन तथा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। उनले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न, घाइतेको तत्काल उपचार गर्न तथा थप मानवीय क्षति रोक्न आवश्यक सबै उपाय अपनाउन जोड दिएका छन्।

सीले उद्धार कार्यलाई वैज्ञानिक र प्रभावकारी ढंगले अघि बढाउन तथा सम्भावित थप विपद्बाट जोगिन पूर्वसूचना र जोखिम निगरानीलाई थप मजबुत बनाउन पनि निर्देशन दिएका छन्।
नेपालको रसुवा क्षेत्रमा आएको भीषण बाढीले नेपाल–चीन सीमावर्ती क्षेत्रसमेत प्रभावित भएपछि चीनले आफ्ना नागरिक तथा प्रभावित क्षेत्रमा उद्धार र राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। चीनको नेपालस्थित दूतावासले समेत आपत्कालीन संयन्त्र सक्रिय गर्दै प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा संस्थाको अवस्थाबारे जानकारी संकलन थालेको थियो।

यसैबीच, नेपालमा बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति चीनले चासो व्यक्त गर्दै प्रभावित नेपाली नागरिकलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउने विषयमा समेत पहल अघि बढाएको जनाइएको छ।
नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विपद्पछि दुवै देशतर्फ ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन्। उद्धार तथा बेपत्ताको खोजी कार्य अझै जारी रहेको छ।












