बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वल्र्डलिंक ग्राहकलाई राहत, ५ दिनसम्म निःशुल्क इन्टरनेट
काठमाडौं।बाढीबाट प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका ग्राहकलाई वल्र्डलिंक कम्युनिकेसन्सले विशेष राहत सुविधा उपलब्ध गराउने भएको छ।
कम्पनीले विपद्का कारण ग्राहकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले प्रभावित क्षेत्रमा इन्टरनेट सेवा तत्काल विच्छेद नगर्ने जनाएको छ। नियमित सेवा शुल्क तिर्न नसकेका तथा सेवा अवधि सकिन लागेका ग्राहकको कनेक्सन पनि तत्काल बन्द नगरिने कम्पनीले जनाएको हो।

त्यसैगरी, नवीकरणको म्याद सकिन लागेका ग्राहकलाई थप पाँच दिनसम्म निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने वल्र्डलिंकले जनाएको छ।
बाढीका कारण त्रिशूली, गजुरी र गल्छी क्षेत्रमा सडक, पुललगायतका भौतिक संरचनामा क्षति पुगेको छ भने कतिपय स्थानमा जनजीवनसमेत प्रभावित भएको छ। विपद्को समयमा सञ्चार तथा इन्टरनेट सेवा अत्यावश्यक हुने भएकाले ग्राहकलाई सेवा निरन्तर उपलब्ध गराउने प्रयास गरिएको कम्पनीले जनाएको छ।

वल्र्डलिंकले प्रभावित क्षेत्रका ग्राहक तथा सर्वसाधारणलाई आफ्नो सुरक्षा पहिलो प्राथमिकतामा राख्न आग्रह गर्दै सुरक्षित स्थानमा बस्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

![]()













