भरतपुरमा १३५ शव संकलन,शुक्रबार बिहानदेखि पहिचान प्रक्रिया सुरु – Sagarmathapana:: Online News Portal

भरतपुरमा १३५ शव संकलन,शुक्रबार बिहानदेखि पहिचान प्रक्रिया सुरु

   २०८३ भाद्र १२ गते  

चितवन।रसुवाको भोटेकोशी बाढीमा बगेर बेपत्ता भएकामध्ये चितवनमा हालसम्म १३५ वटा शव संकलन गरिएको छ। ती शवको पहिचान प्रक्रिया सहज बनाउन भरतपुरमा अस्थायी शव पहिचान कक्ष स्थापना गरी शवहरू ल्याइएको छ।

भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको हलमा स्थापना गरिएको अस्थायी पहिचान कक्षमा शवहरूलाई व्यवस्थित रूपमा राखिएको चितवनका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार शव व्यवस्थापनका लागि ७ वटा डेकर तयार गरिएको छ। शवको सुरक्षाका लागि रातिको समयमा सुरक्षाकर्मीसमेत परिचालन गरिनेछ। शव बिग्रिन नदिन कक्षमा माइनस डिग्रीको तापक्रम कायम गरिएको छ।

चिकित्सकहरूले शव सफा गरी महिला, पुरुष तथा उमेर समूहका आधारमा छुट्याएर स्पष्ट फोटोसमेत खिचेका छन्। ती फोटोहरू शुक्रबार बिहान ७ बजेदेखि सोही औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको ठूलो हलमा प्रदर्शन गरिने एसपी पौडेलले बताउनुभयो।

शव पहिचानका लागि चितवन आउने पीडित परिवारका सदस्यका लागि जिल्ला प्रशासन कार्यालय चितवनले निःशुल्क होटल बसाइको व्यवस्था मिलाएको जनाएको छ।

प्रशासनले परिवारका सदस्यलाई आवश्यक कागजात तथा पहिचान खुल्ने विवरणसहित उपस्थित हुन आग्रह गरेको छ। शव पहिचानपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई शव बुझाउने तयारी गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै