बाढीपछि शव व्यवस्थापनमा चुनौती, काठमाडौँ र चितवनमा भण्डारणको सकस – Sagarmathapana:: Online News Portal

बाढीपछि शव व्यवस्थापनमा चुनौती, काठमाडौँ र चितवनमा भण्डारणको सकस

   २०८३ भाद्र १३ गते  

काठमाडौँ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि फेला परेका शवको पहिचान तथा व्यवस्थापन राज्यका निकायका लागि ठूलो चुनौती बनेको छ। बाढीपछि फेला परेका ४८९ शवमध्ये धेरैको पहिचान हुन बाँकी रहेकाले काठमाडौँ र चितवनमा शव भण्डारणको समस्या थप जटिल बनेको हो।

देशभरका अस्पतालमा रहेका डिप–फ्रिजको कुल क्षमता करिब ३०० देखि ३५० शव मात्र रहेको बताइएको छ। तर, उपलब्ध क्षमताभन्दा बढी शव व्यवस्थापन गर्नुपर्ने अवस्था आएपछि चितवनमा १७८ शवसहित काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा समेत ठूलो संख्यामा शव राखिएका छन्।

शव भण्डारण क्षमताभन्दा बढी भएपछि स्वास्थ्य तथा वातावरणीय जोखिमसमेत बढ्न थालेको छ। फरेन्सिक विज्ञहरूका अनुसार कुहिन थालेका शवमा जथाभावी रासायनिक पदार्थ, चुना वा बरफ प्रयोग गर्दा उद्धार तथा व्यवस्थापनमा खटिएका व्यक्तिमा श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या निम्तिन सक्छ।

विशेषज्ञहरूले शवको सम्पूर्ण विवरण अभिलेख गरी डीएनए तथा औँठाछापको नमुना सुरक्षित गरेपछि आवश्यक प्रक्रिया पूरा गरेर अस्थायी रूपमा सुरक्षित स्थानमा गाड्नु व्यावहारिक उपाय हुन सक्ने बताएका छन्। पहिचान नभएका शवलाई लामो समयसम्म सुरक्षित राख्नुपर्ने कानुनी व्यवस्थाका कारण पनि तत्काल वैकल्पिक व्यवस्थापन आवश्यक देखिएको छ।

गृह मन्त्रालय, नेपाल प्रहरी र स्थानीय तहले ‘बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८’ अनुसार शवको पहिचानका लागि तस्बिर, गहना, ट्याटु लगायतका विवरण प्रयोग गरिरहेका छन्। प्रारम्भिक प्रयासबाट पहिचान हुन नसकेका शवको औँठाछाप राष्ट्रिय परिचयपत्र तथा यातायात व्यवस्था विभागमा उपलब्ध बायोमेट्रिक विवरणसँग भिडाउने प्रक्रिया अघि बढाइएको छ।

अस्पतालका अधिकारीहरूका अनुसार उपत्यकामा घाइते तथा बिरामीको उपचार व्यवस्थापन भइरहे पनि ठूलो संख्यामा शव राख्नुपर्ने अवस्था थप जटिल बनेको छ। उनीहरूले केन्द्र सरकार र स्थानीय तहबीच समन्वय गरी कोल्ड स्टोरेज, खाली कन्टेनर वा अन्य वैकल्पिक संरचना प्रयोग गरेर तत्काल शव व्यवस्थापनको ठोस योजना बनाउनुपर्ने बताएका छन्।

बाढीपछि उद्धार तथा राहतसँगै शवको सुरक्षित व्यवस्थापन र पहिचान राज्यसामु अर्को गम्भीर चुनौतीका रूपमा देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै