किरात याक्थुङ चुम्लुङ हङ्कङको १४औँ महाधिवेशन सम्पन्न, श्याम कुमार इङ्नाम र लक्ष्मी पन्दाकको नेतृत्वमा नयाँ कार्यसमिति
हङ्कङ।किरात याक्थुङ चुम्लुङ हङ्कङको १४औँ महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले चार्टर्ड इन्जिनियर श्याम कुमार इङ्नामलाई पहिलो वरियताको अध्यक्ष र लक्ष्मी पन्दाकलाई अध्यक्षका रूपमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको हो।

![]()
महाधिवेशन आपसी समझदारी, सहमति र सहकार्यका आधारमा सम्पन्न भएको जनाइएको छ। सहमतिअनुसार पहिलो १८ महिनाको दैनिक कार्यकारी जिम्मेवारी लक्ष्मी पन्दाकले सम्हाल्ने तथा श्याम कुमार इङ्नामले मुख्य अध्यक्षका रूपमा अभिभावकीय एवं नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यवस्था गरिएको छ।



यसैगरी, आगामी १५औँ महाधिवेशनमा नयाँ नेतृत्वलाई मार्गप्रशस्त गर्ने गरी नेतृत्व हस्तान्तरणको वातावरण बनाउने सहमति भएको छ। नेतृत्व चयनमा देखिएको सहमतिलाई हङ्कङमा रहेका लिम्बू समुदायमा एकता, मेलमिलाप र सहकार्यको सकारात्मक उदाहरणका रूपमा लिइएको छ।
नवनिर्वाचित प्रथम वरियताका अध्यक्ष श्याम कुमार इङ्नामले हङ्कङ पोलिटेक्निक युनिभर्सिटीबाट सिभिल इन्जिनियरिङमा मास्टर डिग्री हासिल गरेका छन्। कतार, बेलायत र हङ्कङलगायतका देशमा विभिन्न अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीमा इन्जिनियरिङ क्षेत्रमा काम गरेको अनुभव रहेका इङ्नाम हाल हङ्कङमा चार्टर्ड इन्जिनियरका रूपमा कार्यरत छन्।


सन् २०१४ देखि आफ्नै इन्जिनियरिङ कम्पनीमा निर्देशकका रूपमा समेत आबद्ध इङ्नाम हङ्कङस्थित SHEQ Academy Training Centre का निर्देशकसमेत हुन्। लामो समयदेखि किरात समुदायको भाषा, संस्कार, संस्कृति तथा हकहितका क्षेत्रमा सक्रिय रहँदै आएका इङ्नामको नेतृत्वले संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति यसप्रकार रहेको छ:
अध्यक्ष (पहिलो वरियता): श्याम कुमार इङ्नाम
अध्यक्ष: लक्ष्मी पन्दाक
वरिष्ठ उपाध्यक्ष: खगेन्द्र लावती
उपाध्यक्ष: रुबी मादेन, मनिता साम्बा
महासचिव: मौसम इम्बुङ
सचिव: हाङ्स्रोङ युन्छोमा आङ्बुहाङ रामकुमारी
कोषाध्यक्ष: रविन कुमार नाल्बो
सह–कोषाध्यक्ष: भक्तराज वनेम
सदस्यहरू: हेमराज आङ्छङ्बो लिम्बू, माया खापुङ, बसन्त आङ्बुहाङ, दिलु थेवे, चेन्द्रु मोराहाङ, लोकेन्द्र हुक्पाचोङ्बाङ, भीम तुम्बाहाङ्फे, सुदिप थक्लुङ र हाङ चेम्जोङ।

नवनिर्वाचित कार्यसमितिले किरात याक्थुङ चुम्लुङ हङ्कङलाई थप एकताबद्ध, सशक्त र व्यवस्थित बनाउँदै याक्थुङ समुदायको भाषा, संस्कृति, संस्कार तथा सामाजिक हितका क्षेत्रमा काम गर्ने अपेक्षा गरिएको छ।
महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजकले आभार व्यक्त गर्दै नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएको छ।












