पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा उडान, पर्यटनमा नयाँ अध्याय – Sagarmathapana:: Online News Portal

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा उडान, पर्यटनमा नयाँ अध्याय

   २०८३ श्रावण ३० गते  

काठमाडौं।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा सिधा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएपछि नेपालको हवाई तथा पर्यटन क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको छ।

दुबईस्थित flydubai ले आगामी सेप्टेम्बर २३, २०२६ देखि पोखरा–दुबई दैनिक सिधा उडान सुरु गर्ने घोषणा गरिसकेको छ। यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानतर्फ अघि बढ्ने भएको हो।

यसै सन्दर्भमा नेपाल सरकार र यूएई सरकारबीच द्विपक्षीय हित, हवाई सम्पर्क विस्तार तथा पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ। पोखराबाट दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित हुँदा अन्तर्राष्ट्रिय पर्यटकलाई पोखरा तथा गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने तयारीले विमानस्थलको प्रभावकारी उपयोगसँगै पोखराको पर्यटन, होटल, यातायात तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट केन्द्रमध्ये एक भएकाले पोखराबाट दुबईसँग जोडिँदा नेपालका लागि अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा समेत पहुँच विस्तार हुने सम्भावना देखिएको छ।

यसलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको इतिहासमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै