अन्नपूर्ण क्षेत्रमा बाढी–पहिरोपछि सडक र पदमार्ग अवरुद्ध, उच्च सतर्कता अपनाउन TAAN को आग्रह
काठमाडौं।कास्कीको विरेठाँटीलगायत अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानमा भारी वर्षापछि आएको बाढी–पहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भएका छन्। ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (TAAN) गण्डकीले पर्यटक, गाइड तथा पोर्टरको सुरक्षालाई उच्च प्राथमिकता दिँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

TAAN गण्डकीका अनुसार मोदी खोलामा आएको भीषण बाढीले नयाँपुल–घान्द्रुक तथा मुक्तिनाथ जोड्ने सडकखण्ड पूर्ण रूपमा क्षतिग्रस्त भएपछि उक्त क्षेत्रमा यातायात तथा आवागमन ठप्प भएको छ। अन्नपूर्ण, पुनहिल तथा घान्द्रुक पदयात्राका लागि महत्वपूर्ण प्रवेशमार्ग प्रभावित भएपछि पर्यटकको आवागमनमा समेत समस्या उत्पन्न भएको छ।


TAAN गण्डकीले पर्यटन व्यवसायीहरूलाई आफ्ना कम्पनीमार्फत पदयात्रामा जाने पर्यटक, गाइड तथा सहयोगीहरूलाई मौसम, सडक र पदमार्गको वास्तविक अवस्थाबारे स्पष्ट जानकारी गराउन अनुरोध गरेको छ।
कार्य क्षेत्रमा रहेका गाइड तथा पोर्टरलाई समेत सम्बन्धित एजेन्सीसँग निरन्तर सम्पर्कमा रहन तथा स्थानीय निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) र पर्यटन प्रहरीसँग समन्वय गरी सम्भव भएसम्म सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।


बाढी–पहिरोबाट पर्यटन व्यवसायीमा परेको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै TAAN गण्डकीले अवरुद्ध सडक तथा पदमार्गको तत्काल मर्मत–सम्भार गरी आवागमन सहज बनाउन सम्बन्धित सरकारी निकायसँग माग गरेको छ।
TAAN गण्डकीका सचिव गोपाल कृष्ण संग्रौलाले जारी गरेको सूचनामा पर्यटकीय गतिविधिभन्दा पर्यटक तथा पदयात्रामा संलग्न कर्मचारीको जीवन सुरक्षा पहिलो प्राथमिकता रहेको उल्लेख गरिएको छ।













