हङकङका नेपाली समुदायमा वित्तीय साक्षरता अभाव,देखावटी खर्चले बढाउँदै आर्थिक जोखिम – Sagarmathapana:: Online News Portal

हङकङका नेपाली समुदायमा वित्तीय साक्षरता अभाव,देखावटी खर्चले बढाउँदै आर्थिक जोखिम

   २०८३ श्रावण २९ गते  

डि.के.दाहाल,हङकङ

हङकङ।हङकङमा बसोबास गर्ने नेपाली समुदायमा पछिल्लो समय वित्तीय अनुशासन र आर्थिक साक्षरताको अभाव गम्भीर चुनौतीका रूपमा देखिन थालेको छ।राम्रो आम्दानी हुँदाहुँदै पनि आम्दानीअनुसार खर्च व्यवस्थापन नगर्ने, बचतभन्दा देखावटी जीवनशैलीलाई प्राथमिकता दिने तथा योजनाविनै ऋण तथा सरसापटी लिने प्रवृत्तिले व्यक्तिगत तथा पारिवारिक आर्थिक सुरक्षामाथि जोखिम बढाएको छ।

हङकङजस्तो महँगो शहरमा नियमित आम्दानी भए पनि मासिक आम्दानी र खर्चको स्पष्ट हिसाब नराख्दा आर्थिक व्यवस्थापन कमजोर हुने गरेको देखिन्छ। आवश्यकताभन्दा बढी खर्च गर्ने, सामाजिक प्रतिष्ठा देखाउन महँगा वस्तु तथा सेवामा पैसा खर्च गर्ने र भविष्यका लागि पर्याप्त बचत नगर्ने प्रवृत्ति कतिपय नेपालीमा देखिन्छ।

विशेषगरी आम्दानी घटेको वा रोजगारीमा समस्या आएको अवस्थामा समेत पुरानै जीवनशैली कायम राख्ने प्रयासले आर्थिक दबाब थप बढाउने गरेको छ। यस्तो अवस्थामा अनियोजित रूपमा ऋण, उधारो तथा सरसापटीमा निर्भर हुनुपर्ने अवस्था सिर्जना हुन सक्छ।

आवश्यकता र आफ्नो क्षमताको मूल्याङ्कन नगरी ऋण लिनु अर्को महत्वपूर्ण समस्या हो। ऋण लिँदा त्यसको ब्याज, मासिक किस्ता, आम्दानीको स्थायित्व र चुक्ता गर्ने समयावधिबारे स्पष्ट योजना नबनाउँदा ऋणको भार क्रमशः बढ्न सक्छ।

त्यसैले

वित्तीय साक्षरताको मुख्य उद्देश्य पैसा कमाउनु मात्र नभई कमाएको पैसालाई सही ढंगले व्यवस्थापन गर्नु, आवश्यक खर्च छुट्याउनु, बचत गर्नु र ऋणलाई जिम्मेवार ढंगले व्यवस्थापन गर्नु पनि हो।

समुदायमा आफूलाई व्यवसायी, समाजसेवी वा नेतृत्वदायी व्यक्तिका रूपमा प्रस्तुत गर्ने व्यक्तिहरूले आर्थिक व्यवहारमा समेत पारदर्शिता र जिम्मेवारी देखाउनुपर्ने आवश्यकता छ। कसैको वास्तविक आर्थिक अवस्था वा कानुनी विषयबारे प्रमाणबिना आरोप लगाउनु उचित हुँदैन। तर ऋण, आर्थिक कारोबार र आर्थिक दायित्वप्रति गैरजिम्मेवार व्यवहार देखिए त्यसले व्यक्तिसँगै समग्र समुदायको विश्वास र प्रतिष्ठामा असर पार्न सक्ने भएकाले सचेत हुन आवश्यक छ।

लेख्नुको उद्देश्य के हो?

यस विषयमा लेख्नुको उद्देश्य कुनै व्यक्ति वा समूहलाई लक्षित गरी आरोप लगाउनु नभई हङकङमा रहेका नेपाली समुदायमा वित्तीय साक्षरता, आर्थिक अनुशासन र जिम्मेवार वित्तीय व्यवहारबारे बहस सिर्जना गर्नु हो। मेहनत गरेर कमाएको रकमको सही व्यवस्थापन, नियमित बचत, आवश्यकताअनुसार खर्च तथा ऋण लिँदा स्पष्ट पुनर्भुक्तानी योजना बनाउने संस्कार विकास गर्न सके भविष्यमा आर्थिक संकटबाट जोगिन सकिन्छ।

हङकङमा नेपाली समुदायको संख्या र आर्थिक गतिविधि बढ्दै जाँदा वित्तीय साक्षरतालाई व्यक्तिगत विषय मात्र नभई समुदायको दीर्घकालीन हितसँग जोडेर हेर्नुपर्ने आवश्यकता देखिएको छ। देखावटी खर्चभन्दा बचत, आर्थिक पारदर्शिता र जिम्मेवारीलाई प्राथमिकता दिन सके नेपाली समुदायको आर्थिक आधार अझ बलियो बन्न सक्छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया सबै