‘ए मेरो हजुर ५’को शुभमुहूर्त २५ वर्षपछि झरना थापा‘ए मेरो हजुर’मा फर्किँदै, – Sagarmathapana:: Online News Portal

‘ए मेरो हजुर ५’को शुभमुहूर्त २५ वर्षपछि झरना थापा‘ए मेरो हजुर’मा फर्किँदै,

   २०८३ श्रावण ३० गते  

काठमाडौं।अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ । निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरेको हो ।
बंगलामुखी मन्दिरमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ प्रस्थान गरेको निर्देशक थापाले जानकारी दिइन् ।

बडीमालिकाजस्तो धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्थानमा फिल्मको छायांकन गर्न पाउँदा आफूहरू गौरवान्वित भएको निर्देशक थापाले बताएकी छन् । उनका अनुसार बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो ।


“हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो,” उनले भनिन् ।

फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन् । यो उनीहरूको तेस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’मा एकसाथ अभिनय गरेका थिए । यी दुवै फिल्ममा अनमोल र सुहानाको जोडीलाई दर्शकले रुचाएका थिए ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुनिलकुमार थापा हुन् । फिल्मको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन् ।
अनमोल र सुहानासहित फिल्ममा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको अभिनय रहनेछ ।

रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्ममा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको संगीत रहनेछ । संगीत संयोजन उदय राज पौडेलले गर्नेछन् ।

फिल्मको प्रमुख सहायक निर्देशकमा नवराज शर्मा छन् भने सहायक निर्देशकको जिम्मेवारी अनिल दाहाल र प्रकाश थापाले सम्हाल्नेछन् । निर्माण सहायकमा रञ्जित कोइराला छन् । कास्टिङ डाइरेक्टरको जिम्मेवारी पटकथा लेखक सरिन पोखरेलले सम्हालेका छन् भने प्रोडक्सन डिजाइनर कुमार सिलवाल हुन् ।

पोस्ट प्रोडक्सन प्रमुख साहिल खान, रङ संयोजनमा राजन मोक्तान, ध्वनि मिश्रणमा उत्तम न्यौपाने, ड्रेस डिजाइनमा सुशिला श्रेष्ठ ओन्टा तथा छारिफ सार्जन ओन्टा र स्टाइलिस्ट तथा मेकअप/हेयरमा रोनिशा अधिकारी रहेका छन् ।


फिल्मको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछन् । मिडिया संयोजनको जिम्मेवारी दिनेश सिटौला फिल्म्स (सीपी जैसी)ले सम्हाल्नेछ भने पब्लिसिटी डिजाइनमा टौवा प्रोडक्सन जोडिएको छ ।

‘ए मेरो हजुर’का चारै शृंखलाले बक्स अफिसमा राम्रो सफलता हासिल गरेका थिए । स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको पहिलो शृंखलापछि दोस्रो संस्करणदेखि झरना थापाले निर्देशनको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

यसपटक भने झरना निर्देशनसँगै अभिनयमा पनि देखिनेछिन् । ‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिकामा देखिएकी झरना करिब २५ वर्षपछि पाँचौँ संस्करणमा अभिनय गर्न लागेकी हुन् । उनी पुरानै भूमिकामा फर्किन लागेकी हुन् वा नयाँ चरित्रमा देखिन लागेकी हुन् भन्ने निर्माण पक्षले खुलाएको छैन । यसले फिल्ममा उनको भूमिकालाई लिएर दर्शकमा थप कौतूहलता बढाएको छ ।

‘ए मेरो हजुर ५’ नेपाली नयाँ वर्ष २०८४ मा प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै