माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, प्रेम र धोकाको कथामा रेखा थापा
काठमाडौं।लामो समयपछि निर्देशनमा फर्किएकी रेखा थापाको नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक गरिएको छ । टिजरले प्रेम, विवाह, विश्वास, बाध्यता र धोकाबीचको सम्बन्धलाई फिल्मको मुख्य कथावस्तुका रूपमा प्रस्तुत गरेको छ ।

टिजरमा दिल श्रेष्ठ, नीति शाह र सृष्टि श्रेष्ठबीचको प्रेम सम्बन्धलाई केन्द्रमा राखिएको छ । सुरुवातमा दिल र नीतिको प्रेमलाई रोमान्टिक शैलीमा देखाइए पनि कथा अघि बढ्दै जाँदा दिल विवाहको मण्डपमा पुगेको दृश्य आउँछ । तर उनले माया गरेको प्रेमिका त्यहाँ देखिँदैनन्।


‘जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिएँ’ भन्ने संवादले फिल्मको मुख्य द्वन्द्व र रहस्यतर्फ संकेत गर्छ ।
सृष्टि श्रेष्ठलाई गम्भीर तथा रहस्यमय भूमिकामा देखाइएको छ भने नीति शाह चञ्चल र प्रेमिल अवतारमा प्रस्तुत भएकी छन् । नम्रता श्रेष्ठको उपस्थितिले पनि कथामा नयाँ आयाम थप्ने देखिन्छ । मदनकृष्ण श्रेष्ठसहितका कलाकारका भावनात्मक दृश्यले पारिवारिक द्वन्द्व र बाध्यताको कथा उजागर गर्ने संकेत गरेको छ ।


यसअघि एक्सन र नारी शक्तिलाई प्राथमिकता दिँदै आएकी रेखा थापाले यसपटक भने भावनात्मक कथालाई केन्द्रमा राखेकी छन् । टिजरमा रहेका भावनात्मक संवादले फिल्म प्रेम र सम्बन्धको गहिराइमा केन्द्रित रहेको देखाउँछ ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको पनि अभिनय छ ।


‘दिया एन्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन् । ध्रुव लम्सालको पटकथा रहेको फिल्ममा सुदीप बरालको छायांकन छ ।
प्रशान्त सिवाकोटीको संगीत, अनिरुद्ध आत्रेयको प्रमुख सहायक निर्देशन, राजन घिमिरेको फिल्म संयोजन, सुजेनी मल्लको ड्रेस डिजाइन, प्रिया कार्कीको मेकअप र चुडामणि (सीएम)को प्रोडक्सन रहेको छ ।
‘माया भनेकै यस्तो होला’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ । फिल्मको वितरण रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।













