फरार कैदीबन्दीको संख्या बढ्दै, ६८२ जना अझै पक्राउ पर्न बाँकी – Sagarmathapana:: Online News Portal

फरार कैदीबन्दीको संख्या बढ्दै, ६८२ जना अझै पक्राउ पर्न बाँकी

   २०८३ श्रावण २९ गते  

काठमाडौं।कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकार अवस्थाबारे छलफल भएको छ। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारसम्बन्धी प्रतिवेदनमाथि पनि छलफल तथा सुझाव संकलन गरिएको छ।

बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कारागार तथा हिरासत व्यवस्थापन र फरार कैदीबन्दीको खोजीबारे समितिलाई जानकारी गराएका छन्।

आईजीपी कार्कीका अनुसार जेनजी आन्दोलनका क्रममा फरार भएका ६८२ जना अझै पक्राउ पर्न बाँकी छन्। विभिन्न कारागारबाट फरार भएका १३ हजार ५८९ जनामध्ये पनि ३ हजारभन्दा बढी अझै पक्राउ पर्न बाँकी रहेको उनले बताए।

सप्तरी, सिरहा र बाँकेका कारागारमा भएका घटनापछि सुरक्षा व्यवस्था मिलाउन तथा कैदीबन्दी स्थानान्तरण गर्न सुरक्षाकर्मीले लामो समय लगाउनुपरेको उनले जानकारी दिए। कारागार तथा हिरासतको अवस्थाबारे निरीक्षणपछि समयमै निर्णय लिन सके सम्भावित क्षति र संगठित गतिविधि रोक्न सहयोग पुग्ने उनको भनाइ थियो।

फरार व्यक्तिको संख्या घटाउन विभिन्न सरकारी निकायमा दर्ता भएका मुद्दा तथा अभियुक्तको विवरण प्रहरीको केन्द्रीय अभिलेख प्रणाली (सीआरएस) मा एकीकृत गर्नुपर्नेमा आईजीपी कार्कीले जोड दिए।

वन, सम्पत्ति शुद्धीकरण, राजस्व, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा वैदेशिक रोजगार विभागलगायत निकायबाट चलाइएका मुद्दाको विवरण प्रहरीको सीआरएसमा समयमै नआउँदा अभियुक्तसम्बन्धी सूचना छुट्टाछुट्टै प्रणालीमा रहने समस्या रहेको उनले बताए।

नेपाल प्रहरीको सीआरएसलाई केन्द्रीय प्रणालीका रूपमा विकास गर्ने नीति रहेकाले सबै सरकारी निकायका मुद्दा तथा अभियुक्तसम्बन्धी विवरण एउटै प्रणालीमा जोड्न आवश्यक रहेको आईजीपी कार्कीले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै