नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अर्गानिक प्रमाणीकरण एजेन्सी स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन – Sagarmathapana:: Online News Portal

नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अर्गानिक प्रमाणीकरण एजेन्सी स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन

   २०८३ श्रावण ७ गते  

काठमाडौं।प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा उत्पादित अर्गानिक कृषि उपजको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अर्गानिक कृषि व्यवसायीहरूको छाता संगठन ‘अर्गानिक एसोसिएसन नेपाल’का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिनुभएको हो।

छलफलमा व्यवसायीहरूले अन्तर्राष्ट्रियस्तरको अर्गानिक प्रमाणीकरण प्रक्रिया निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना गर्न माग गरेका थिए। प्रधानमन्त्री शाहले उक्त मागलाई तत्काल सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको जनाइएको छ।

नेपालमै प्रमाणीकरण एजेन्सी स्थापना नहुँदासम्म अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणमा लाग्ने खर्चका लागि सरकारले दिँदै आएको ७५ प्रतिशतसम्मको अनुदान पुनः सुचारु गर्नुपर्ने मागमा पनि प्रधानमन्त्री सकारात्मक हुनुभएको छ।

प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल तथा विषादीको प्रयोग नियन्त्रण गर्दै अर्गानिक कृषि प्रवर्द्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो। साथै, प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारीलाई अनुदान उपलब्ध गराउने व्यवस्था मिलाउन पनि उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

अर्गानिक मलको उत्पादन वा खरिदमा रासायनिक मलसरह सुविधा उपलब्ध गराउने विषयमा समेत प्रधानमन्त्री शाह सकारात्मक देखिनुभएको छ। अर्गानिक उत्पादनको निर्यातमा दिइँदै आएको अनुदान दुई वर्षदेखि रोकिएको विषयमा कानुनी समाधान खोज्न सम्बन्धित मन्त्रालयले कार्यविधि तयार गरिरहेको जानकारी पनि उहाँले दिनुभयो।

छलफलमा अर्गानिक एसोसिएसन नेपालका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइरालासहित व्यवसायी तथा अर्गानिक कृषि क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै