कांग्रेसको असन्तुष्ट पक्षको भेलामा लेखियो–‘सुकिला मुकिला एकपटक पार्टीमा हावी हुन्छन्, हामी तिनको दास हुनुहुँदैन’
काठमाडौं।नेपाली कांग्रेसको आन्तरिक विवाद ४४औँ बीपी जयन्तीका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रममार्फत सतहमा आएको छ । संस्थापन र असन्तुष्ट पक्षले बुधबार अलग–अलग कार्यक्रम आयोजना गर्दै आ–आफ्ना राजनीतिक सन्देश सार्वजनिक गरेका छन् ।
असन्तुष्ट पक्षले काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा नेता शेखर कोइराला पनि सहभागी भएका छन् । यसअघि पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेका कार्यक्रमहरूमा सहभागी नहुने गरेका कोइरालाको यसपटकको उपस्थितिलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।
कार्यक्रमस्थलमा राखिएको ब्यानरमा ‘सुकिला मुकिला एक पटक पार्टीमा हावी हुन्छन्, हामी तिनको दास हुनुहुँदैन’ भन्ने नारा लेखिएको थियो । उक्त नाराले कांग्रेसभित्रको असन्तुष्टि र नेतृत्वप्रतिको आलोचनालाई थप प्रस्ट रूपमा प्रस्तुत गरेको देखिन्छ ।
बीपी जयन्तीको अवसरमा आयोजित कार्यक्रममार्फत कांग्रेसका दुवै पक्षले आफ्ना धारणा र राजनीतिक सन्देश सार्वजनिक गरेपछि पार्टीभित्रको आन्तरिक मतभेद पुनः चर्चामा आएको छ।












