धान रोपाइँको सिजनमा रासायनिक मल आपूर्ति तीव्र, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो
काठमाडौं।धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै सरकारले रासायनिक मलको आपूर्ति थप सुदृढ बनाएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार १,२५० मेट्रिक टन डीएपी (डाइ–अमोनियम फस्फेट) मल रक्सौल आइपुगेको छ।
यस्तै, कोलकाताबाट २,५०० मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल रेक आज रक्सौल आइपुग्ने कम्पनीले जनाएको छ। यसबाट धान रोपाइँको समयमा किसानलाई आवश्यक पर्ने मलको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
यसैबीच, विराटनगर भन्सारमा २५० मेट्रिक टन डीएपी मलसमेत आइपुगेको छ भने थप डीएपी मल ट्रकमार्फत विराटनगरतर्फ ल्याउने प्रक्रिया जारी छ।
त्यसैगरी, भैरहवा र विराटनगरका लागि ७५० मेट्रिक टन युरिया मल बोकेका ट्रकहरू भारतबाट नेपालतर्फ प्रस्थान गरिसकेका छन्। उक्त मल सम्बन्धित गन्तव्यमा पुगेपछि आवश्यक प्रक्रिया पूरा गरी किसानलाई वितरण गरिने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ।
धान रोपाइँको समयमा मल अभाव हुन नदिन आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिएको कम्पनीको भनाइ छ।












