अटिजम भएका युवाका लागि पहिलो ब्लक प्रिन्टिङ तालिम सम्पन्न, १२ प्रशिक्षार्थीलाई प्रमाणपत्र
काठमाडौं।आकार फाउन्डेसनले अटिजम भएका युवाहरूका लागि सञ्चालन गरेको पहिलो टेक्सटाइल ब्लक प्रिन्टिङ तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।
गोदावरीस्थित अटिजमकेयर नेपाल सोसाइटीमा जुलाई २१ मा आयोजित कार्यक्रममा आठ सातासम्म सञ्चालन भएको तालिम पूरा गरेका १२ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो। कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिमका क्रममा आफ्नै हातले तयार गरेका ब्लक प्रिन्टिङ सामग्रीसमेत प्रदर्शनीमा राखेका थिए।
कार्यक्रममा द वुमेन्स काउन्सिल, यूकेकी अध्यक्ष डा. रजनी रिजाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा आकार फाउन्डेसनका संस्थापक शेखर क्षेत्री, अध्यक्ष अर्चना शाह, अटिजमकेयर नेपाल सोसाइटीका निर्देशक सुरेन्द्र बज्राचार्य, दबु टेक्सटाइल स्टुडियोका प्रतिनिधि, प्रशिक्षार्थीका अभिभावक तथा शुभेच्छुकहरूको उपस्थिति थियो।
तालिममा प्रशिक्षार्थीहरूले दबु टेक्सटाइल स्टुडियोको प्राविधिक मार्गदर्शनमा आफ्नो क्षमता र गतिअनुसार सहज तथा सहयोगी वातावरणमा ब्लक प्रिन्टिङ सीप सिकेका थिए। आयोजकका अनुसार उपयुक्त सीप र अवसर प्रदान गरिए अटिजम भएका व्यक्तिहरूले पनि उल्लेखनीय उपलब्धि हासिल गर्न सक्ने सन्देश कार्यक्रमले दिएको छ।
आकार फाउन्डेसनकी अध्यक्ष अर्चना शाहले अटिजम भएका व्यक्तिहरूलाई युवावस्थामा प्रवेश गरेपछि आवश्यक सहयोग तथा रोजगारीका अवसर सीमित हुने भएकाले सिर्जनात्मक र आम्दानीमूलक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले ब्लक प्रिन्टिङ तालिमलाई अर्थपूर्ण जीविकोपार्जनतर्फको यात्राको सुरुवातका रूपमा लिनुपर्ने बताउनुभयो।
यो पहल आकार फाउन्डेसन, अटिजमकेयर नेपाल सोसाइटी र दबु टेक्सटाइल स्टुडियोको संयुक्त सहकार्यमा अघि बढाइएको हो। फाउन्डेसनले अटिजम तथा बौद्धिक अपाङ्गता भएका युवाहरूका लागि क्याफे, बेकरी, टेक्सटाइल स्टुडियो, लाइफस्टाइल स्टोर, कला प्रदर्शनी कक्ष तथा उत्पादन कार्यशालामार्फत रोजगारी र आम्दानीका अवसर सिर्जना गर्ने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ।












