विद्यालयका छात्रामाथि दुर्व्यवहारको आरोप: मोरङमा शिक्षकसहित तीनजना पक्राउ, विद्यालयले गर्यो निलम्बन
काठमाडौं।मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयका छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। घटनामा संलग्न रहेको आरोप लागेका विद्यालयका लेखा अधिकृत, संगीत शिक्षक र एक जना बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
घटना सार्वजनिक भएपछि सुन्दरहरैँचा नगरकार्यपालिकाको कार्यालयले सम्बन्धित व्यक्तिलाई तत्काल निलम्बन गर्न विद्यालयलाई निर्देशन दिएको थियो। त्यसपछि विद्यालय प्रशासनले तीनैजनालाई निलम्बन गर्दै घटनाबारे निष्पक्ष छानबिनका लागि सम्बन्धित निकायसँग समन्वय गरेको जनाएको छ।
विद्यालयले जारी गरेको सूचनामा घटनाको निष्पक्ष अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा पत्राचार गरिएको उल्लेख गर्दै छानबिन सम्पन्न नहुँदासम्म संयमित रहन सबै पक्षलाई आग्रह गरिएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ। दोषी ठहरिए कानुनअनुसार आवश्यक कारबाही गरिने बताइएको छ।












