खुस्माको गीत रुकुम मैकोट’ ग्लोबल ट्रेन्डिङको ७३ नम्बरमा
काठमाडौं । । प्रदर्शनरत सिनेमा ‘खुस्मा’ले आकर्षक कलेक्सन गरिरहेका बेला निर्माण टिमले अर्को सफलता प्राप्त गरेको छ । निर्माण टिमलाई सफलता दिलाएको हो, गीत ‘रुकुम मैकोट’ले ।
यो गीत ग्लोबल ट्रेन्डिङमा परेको छ । ‘रुकुम मैकोट’ ग्लोबल ट्रेन्डिङको ७३ नम्बरमा परेको छ । एक करोड ३५ लाख भन्दा धेरै पटक हेरिएको गीत ग्लोबल ट्रेन्डिङमा प्रवेश गरेको हो ।
नेपाली गीत ग्लोबल ट्रेन्डिङमा बिरलै मात्रै पर्छन् । जुन सफलता ‘रुकुम मैकोट’ले प्राप्त गरेको हो । पछिल्लो समय लोभलाग्दो लोकप्रियता र भ्युज पाएको गीत पनि हो यो ।
यो गीत लामो समय युट्युब ट्रेन्डिङको एक नम्बरमा बसेको थियो । अन्य लोकप्रिय ब्रान्ड र कलाकारका गीतले पनि यो गीतलाई उछिनेर ट्रेन्डिङको एक नम्बरमा पुग्न सकेका थिएनन् । अहिले पनि म्युजिक ट्रेन्डिङको एक नम्बरमा नै छ यो गीत ।
गीतमा एसडी योगी र शान्तीश्री परियारको स्वर छ । सुरेन्द्र रानाको शब्द रहेको गीतमा संगीत पनि एसडी योगी कै छ । गीतको भिडियोमा मुख्य कलाकार धिरज मगर र उपसना सिंह ठकुरीसँगै सिनेमाका अन्य कलाकार पनि फिचर्ड छन् ।
यसैबीच, यो सिनेमाले आकर्षक ब्यापार गरिरहेको छ । संविधान दिवसको अवसर पारेर बिहीबारबाट रिलिज भएको सिनेमाले तीन दिनमा २ करोड ५५ लाख ग्रसकलेक्सन गरेको छ । वितरक गोविन्द शाहीका अनुसार ‘खुस्मा’ले तीन दिनमा अल नेपाल २ करोड ५५ लाख कलेक्सन गरेको हो ।
अहिले पनि धेरै हलमा यो सिनेमाले उच्च अकुपेन्सीमा दर्शक पाइरहेको छ । दर्शकको साथ पाउने क्रम बढ्दै गएको निर्देशक अशोक थापा मगरले जनाएका छन् । ‘वर्ड अफ माउथ राम्रो भएकाले दर्शक थपिने क्रम पनि बढिरहेको छ,’ उनले भने, ‘दर्शकले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ ।’
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय सिनेमा हो । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौवटा विभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट अवार्ड प्राप्त गरिसकेका छन् ।
सिनेमाको निर्मातामा वीरबहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दीपक बज्राचार्यको छायांकन रहेको छ ।
सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय रहेको छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।
सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायत कलाकारको अभिनय रहेको छ ।
सिनेमाको वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गरेको छ ।












