धरान–४ मा श्रमदानले फेरिँदै गाउँको मुहार,स्थानीय भन्छन् ‘अब आफ्नै गाउँ आफैं बनाउँछौँ’
धरान।जोड्ने फलामे पुल नजिक भइरहेको श्रमदान अभियानले वर्षौंदेखि थाँती रहेका स्थानीय पूर्वाधार समस्याको समाधान गर्न थालेको भन्दै स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन्। उनीहरूले श्रम संस्कृतिले समुदायलाई एकताबद्ध बनाउँदै विकासको नयाँ उदाहरण प्रस्तुत गरेको बताएका छन्।
स्थानीय हर्क राईका अनुसार विगतमा सम्बन्धित निकायसँग पटक–पटक आग्रह गर्दा पनि सडक र आवतजावतको समस्या समाधान हुन सकेको थिएन। तर अहिले स्थानीयकै सक्रिय श्रमदानबाट बाटो निर्माण र सुधारको काम अघि बढेपछि दैनिक आवतजावत सहज बन्दै गएको उनले बताए।


“पहिले खोला तर्न निकै सास्ती हुन्थ्यो। विद्यार्थीलाई विद्यालय जान, किसानलाई कृषिजन्य उत्पादन ओसारपसार गर्न कठिन थियो। अहिले श्रमदानकै कारण परिवर्तन देखिन थालेको छ,” उनले भने।
७९ वर्षीय आगमबहादुर राईले गाउँको विकासका लागि सरकारको मात्र प्रतीक्षा गरेर नहुने धारणा राखे। “आफ्नै गाउँ आफैंले बनाउने सोच आवश्यक छ। सबै मिलेर श्रमदान गर्दा असम्भवजस्तो लागेको काम पनि सम्भव हुने रहेछ,” उनले बताए।
श्रमदानमा विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिएको छ। कक्षा ८ मा अध्ययनरत सृष्टि राईले पहिले खोला वारपार गर्न निकै कठिन हुने गरे पनि अहिले बाटो व्यवस्थित बन्दै जाँदा विद्यालय आउजाउ सहज हुने विश्वास व्यक्त गरिन्।


६१ वर्षीया एक स्थानीय महिलाले श्रमदानले गाउँको विकाससँगै व्यक्तिगत स्वास्थ्य र सामाजिक सद्भावमा समेत सकारात्मक प्रभाव पार्ने बताइन्। उनका अनुसार श्रमदानले व्यायाम हुने, समुदायबीच सहकार्य बढ्ने र सुरक्षित पूर्वाधार निर्माणमा सबैको अपनत्व सिर्जना हुने गरेको छ।
स्थानीयवासीहरूले समुदायको सक्रिय सहभागिताबाट सडक, पुल र बाटो निर्माण सम्भव भएको उल्लेख गर्दै यस्ता अभियानलाई सम्बन्धित निकायले आवश्यक प्राविधिक सहयोग, बजेट व्यवस्थापन र दीर्घकालीन संरक्षणमा प्राथमिकता दिनुपर्ने माग गरेका छन्।













