बजेट विवादले कोशी प्रदेशसभा लगातार तेस्रो पटक ठप्प,सत्तापक्षकै असन्तुष्टिले छलफल अन्योलमा – Sagarmathapana:: Online News Portal

बजेट विवादले कोशी प्रदेशसभा लगातार तेस्रो पटक ठप्प,सत्तापक्षकै असन्तुष्टिले छलफल अन्योलमा

   २०८३ असार १९ गते  

धरान।कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्तारुढ दलभित्रै चर्किएको असन्तुष्टिका कारण प्रदेशसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। बजेट संशोधनको मोडालिटीमा सत्ता गठबन्धनभित्र सहमति जुट्न नसक्दा बिहीबारका लागि तय गरिएको बैठक अन्तिम समयमा स्थगित गरी शुक्रबारका लागि सारिएको हो।

प्रदेश सरकारले असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेप मार्फत ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो।

बजेट सार्वजनिक भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) (एमाले) र नेपाली कांग्रेस कै सांसदहरूले बजेट विनियोजन असन्तुलित भएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूले केही मन्त्री तथा प्रभावशाली नेताका निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरिएको र प्रदेशका अन्य क्षेत्रको आवश्यकता बेवास्ता गरिएको आरोप लगाएका छन्।

बजेटमाथिको छलफलका लागि पहिलो बैठक असार ११ गते बोलाइए पनि सहमति नजुटेपछि असार १६ गतेका लागि सारिएको थियो। त्यसपछि १६ गते पनि बैठक हुन नसकेपछि असार १८ गतेका लागि तय गरिएको बैठक पुनः स्थगित गर्दै अब असार १९ गते शुक्रबार बस्ने गरी सूचना जारी गरिएको छ।

लगातार तीन पटक प्रदेशसभा बैठक स्थगित भएपछि बजेटमाथिको संसदीय छलफल अन्योलमा परेको छ। सत्ता गठबन्धनभित्रै सहमति नजुटे प्रदेश सरकारको बजेट पारित प्रक्रियामा थप ढिलाइ हुने सम्भावना देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै