बौद्ध सामुदायिक सेवा केन्द्रद्वारा मेलम्ची बौद्ध घ्याङ गुठीका नवनियुक्त पदाधिकारीलाई सम्मान तथा बधाई
काठमाडौं।बौद्ध सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीको संयुक्त आयोजनामा श्री मेलम्ची बौद्ध घ्याङ गुठीका नवनियुक्त पदाधिकारीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ।
कार्यक्रममा बौद्ध सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीका प्रतिनिधिहरूले नवनियुक्त पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समुदायको हित, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र सामाजिक एकताका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।


सम्मानित हुने नवनियुक्त पदाधिकारीहरूमा अध्यक्ष खड्गजित लामा, सचिव ताशी कुमार लामा, कोषाध्यक्ष शैलेन्द्र लामा (पूर्व डीआईजी, सशस्त्र प्रहरी बल), सदस्य किशोर कुमार लामा र सदस्य निर्मला लामा रहेका छन्।
कार्यक्रममा वक्ताहरूले बौद्ध क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई अझ प्रभावकारी बनाउन नयाँ नेतृत्वले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। नवनियुक्त पदाधिकारीहरूले आफूहरूप्रति गरिएको सम्मानका लागि आयोजकप्रति आभार व्यक्त गर्दै गुठीको गरिमा, समुदायको हित र सांस्कृतिक सम्पदाको संरक्षणका लागि समर्पित भएर कार्य गर्ने प्रतिबद्धता जनाएका थिए।


कार्यक्रममा स्थानीय समाजसेवी, गुठीका सदस्य, समुदायका अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।












