त्रिविले ६० दिनभित्र विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन
काठमाडौं ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना आंगिक क्याम्पस तथा विभाग परिसरभित्र रहेका दलीय विद्यार्थी संगठनका भौतिक संरचना ६० दिनभित्र हटाउन निर्देशन दिएको छ।
त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जारी गरेको परिपत्रमा सरकार तथा विश्वविद्यालय अनुदान आयोगको निर्देशन कार्यान्वयन गर्दै उक्त निर्णय लागू गर्न सबै सम्बन्धित निकायलाई आग्रह गरिएको हो।

परिपत्रमा शैक्षिक संस्थामा बढ्दो राजनीतिक हस्तक्षेप, विद्यार्थीका वास्तविक आवाज ओझेलमा पर्नु तथा शैक्षिक गुणस्तरमा परेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न यो कदम चालिएको उल्लेख गरिएको छ।
त्रिविले दलीय विद्यार्थी संगठनका संरचना हटाएको ९० दिनभित्र विद्यार्थीको स्वतन्त्र र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्न ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता नयाँ संयन्त्र गठन गर्ने तयारीसमेत गरेको जनाएको छ। साथै, सबै क्याम्पस तथा विभागलाई तोकिएको समयसीमाभित्र प्रक्रिया पूरा गरी प्रगति विवरण निर्देशनालयमा पठाउन निर्देशन दिइएको छ।












