मन्त्री यादवको कडाइपछि दुई सातामै औद्योगिक क्षेत्रको ४२ करोडभन्दा बढी बक्यौता असुल – Sagarmathapana:: Online News Portal

मन्त्री यादवको कडाइपछि दुई सातामै औद्योगिक क्षेत्रको ४२ करोडभन्दा बढी बक्यौता असुल

   २०८३ असार १७ गते  

काठमाडौं।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको भाडा बक्यौता रकममध्ये दुई सातामै ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ असुल भएको छ।

मन्त्री यादवले लामो समयदेखि भाडा नतिरी बसेका उद्योग तथा कार्यालयहरूबाट तत्काल बक्यौता उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएपछि रकम असुलीले तीव्रता पाएको हो।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि.सं. २०४५ सालदेखि केही उद्योगहरूले भाडा नतिरी बक्यौता राखेका थिए। बक्यौता असुली अभियानअन्तर्गत करिब ६३५ उद्योग तथा कार्यालयलाई सार्वजनिक सूचना जारी गर्दै भाडा तिर्न आग्रह गरिएको थियो। त्यसपछि अधिकांश उद्योगले धमाधम बक्यौता चुक्ता गर्न थालेका छन्।

४५ उद्योगको विद्युत सेवा बन्द

निर्धारित समयभित्र भाडा नतिर्ने उद्योगहरूविरुद्ध लिमिटेडले कडा कदम चालेको छ। सुरुआतमै करिब २०० भन्दा बढी उद्योगको विद्युत सेवा काटिएको थियो। ती उद्योगहरूले बक्यौता तिरेपछि पुनः विद्युत सेवा सञ्चालन गरिएको छ।

हालसम्म पनि भाडा नतिरेका ४५ वटा उद्योग तथा कम्पनीको विद्युत लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिए। मन्त्री यादवले बक्यौता पूर्ण रूपमा चुक्ता नभएसम्म विद्युत सेवा पुनः सञ्चालन नगर्न स्पष्ट निर्देशन दिएको लिमिटेडले जनाएको छ।

बक्यौता धेरै रहेका उद्योगमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिको करिब ३ करोड ६९ लाख रुपैयाँ तथा सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रालिको करिब १ करोड रुपैयाँ भाडा अझै उठ्न बाँकी रहेको छ। यी दुवै कम्पनीको विद्युत सेवा काट्ने प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ।

महाप्रबन्धक ओलीका अनुसार केही उद्योगबाट भाडा असुलीमा विभिन्न प्रकारका बाह्य दबाब आए पनि मन्त्री यादवको स्पष्ट निर्देशनका कारण छोटो समयमै उल्लेखनीय रकम असुल गर्न सफलता मिलेको हो। लिमिटेडले बाँकी बक्यौता उठाउने अभियानलाई निरन्तरता दिने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै