जर्मनीको ह्याम्बर्ग सम्मेलनमा सांसद खुश्बु ओली,दिगो विकास र नेपाल–जर्मनी सहकार्यमा जोड
काठमाडौं।खुश्बु ओली जर्मनीको ह्याम्बर्ग मा आयोजित Hamburg Sustainability Conference मा सहभागी भएकी छन्। सम्मेलनमा विश्वभरका नीति निर्माता, सांसद, युवा नेतृत्व, निजी क्षेत्र तथा विकास साझेदारहरूसँग दिगो विकास, जलवायु न्याय, हरित अर्थतन्त्र, नवप्रवर्तन, लगानी र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा विचार आदानप्रदान भएको उनले जनाएकी छन्।
सम्मेलनका क्रममा सांसद ओलीले नेपालको सम्भावना, चुनौती र विकासका प्राथमिकताबारे धारणा राख्दै अन्तर्राष्ट्रिय अनुभवबाट सिक्ने अवसर प्राप्त भएको बताएकी छन्। उनका अनुसार दिगोपन अब वातावरणीय मुद्दामा मात्र सीमित नरही अर्थतन्त्र, सुशासन, रोजगारी तथा भावी पुस्ताको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय बनेको छ।


एक सातासम्म जर्मनीको ह्याम्बर्ग र बर्लिन मा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनले जानकारी दिएकी छन्। यस अवधिमा उनले रीम अलाबाली राडोभान सँग भेटवार्ता गर्दै दिगो विकास, अन्तर्राष्ट्रिय सहकार्य र साझा समृद्धिका विषयमा छलफल गरेकी छन्।
सांसद ओलीले युवा नेतृत्वको भूमिका दिगो विकासको यात्रामा अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूले अनुभव आदानप्रदान, आपसी विश्वास र भावी सहकार्यका सम्भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेकी छन्।
उनले नेपाल र जर्मनीबीच दिगो विकास, आपसी साझेदारी तथा भावी पुस्ताको समृद्ध भविष्यका लागि द्विपक्षीय सम्बन्ध र सहकार्य अझ सुदृढ हुने अपेक्षा पनि व्यक्त गरेकी छन्।














