रोपाइँ उत्सव–२०८३ भव्य रूपमा सम्पन्न,जलवायुमैत्री कृषि प्रविधिमा जोड – Sagarmathapana:: Online News Portal

रोपाइँ उत्सव–२०८३ भव्य रूपमा सम्पन्न,जलवायुमैत्री कृषि प्रविधिमा जोड

   २०८३ असार १६ गते  

काठमाडौं।“जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ मनाइएको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव को अवसरमा आयोजित ‘रोपाइँ उत्सव–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजना तथा सांस्कृतिक संस्थान र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रमले नेपाली कृषि, संस्कृति र परम्परागत जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको थियो।


उत्सवमा सांस्कृतिक संस्थानका कलाकारहरूले असार महिनाको मौलिकता झल्काउने असारे भाका र विशेष सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। साथै सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै राष्ट्रिय धान दिवसको उत्साहपूर्ण रूपमा मनाएका थिए।

कार्यक्रममा लोकप्रिय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि आकर्षणको केन्द्र बनेको थियो। आयोजकका अनुसार जलवायु परिवर्तनका चुनौतीबीच आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको हो।

रोपाइँ उत्सवमा विभिन्न क्षेत्रका व्यक्तित्व, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

तस्बिर: राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै