उदयपुरमा जंगली हात्तीको आतंक : ११ घरमा क्षति, १६ लाखभन्दा बढीको नोक्सानी
काठमाडौं।उदयपुरको चौदण्डीगढी नगरपालिकामा जंगली हात्तीको समूह बस्तीमा पसेर व्यापक क्षति पुर्याएको छ। शनिबार रातिदेखि गाउँमा प्रवेश गरेको हात्तीको हुलले ११ वटा घरमा तोडफोड गर्नुका साथै अन्नबाली, लत्ताकपडा र अन्य धनमाल नष्ट गर्दा १६ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डीगढी नगरपालिका–४ र ७ का विभिन्न बस्तीमा हात्तीले घर–टहरा भत्काएको, भण्डारण गरिएको अन्नपात खाएको तथा खेतबारीमा लगाइएको बालीसमेत नष्ट गरेको हो। घटनापछि स्थानीयवासी त्रसित बनेका छन्।


प्रहरीका अनुसार वडा नं. ७ का वृद्धिमाया राई, रोशन विश्वकर्मा, बमबहादुर विश्वकर्मा, लक्ष्मी विश्वकर्मा, वीरबहादुर मगर, खिलबहादुर मगर र राधा विश्वकर्मालगायतका घरमा क्षति पुगेको छ। यस्तै वडा नं. ४ का शारदा राई, असुन्ता राई, दुर्गाबहादुर बस्नेत र सरस्वती राईको घर तथा अन्नबालीमा पनि ठूलो नोक्सानी भएको छ।
स्थानीयले हात्ती गाउँमा प्रवेश गरेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासपछि सोमबार बिहान हात्तीको समूहलाई जंगलतर्फ धपाउन सफल भएको प्रहरीले जनाएको छ।













