चलचित्र विकास बोर्डको रजतवर्षमा मृगस्थलीमा वृक्षारोपण, वातावरण संरक्षण अभियानमा चलचित्रकर्मी एकजुट – Sagarmathapana:: Online News Portal

चलचित्र विकास बोर्डको रजतवर्षमा मृगस्थलीमा वृक्षारोपण, वातावरण संरक्षण अभियानमा चलचित्रकर्मी एकजुट

   २०८३ असार १४ गते  

काठमाडौं।चलचित्र विकास बोर्डले आफ्नो रजतवर्ष तथा २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा पशुपति क्षेत्रस्थित विश्वरूप मृगस्थलीमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ।

नेपाल सरकारको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ लाई ऐक्यबद्धता जनाउँदै वातावरण संरक्षण, पर्यावरणीय सन्तुलन तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले बोर्डले Lions International District 325 F, MD 325, Nepal को सहकार्यमा कार्यक्रम सम्पन्न गरेको हो।



देशभरका १० वटा चलचित्र हलमा ५१ दिन प्रदर्शन पूरा गरेको चलचित्र ‘लालीबजार’ की बाल कलाकार समाइरा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार मिथिला शर्मा र गौरी मल्लले चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.सँग संयुक्त रूपमा बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए।

कार्यक्रममा बोर्ड सदस्य तथा प्रवक्ता सन्तोष बाबु लोहनी, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, वरिष्ठ कलाकार आरपी पन्त, रविन्द्र खड्का, कलाकारहरू पूजना प्रधान, मोनिका दाहाल, संगम लभली, रविन्द्र सिंह बानियाँ, चलचित्र संघका पूर्वअध्यक्ष प्रदीप कुमार उदय, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा तथा चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधानलगायतको उपस्थिति रहेको थियो।


त्यसैगरी आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामा, महासंघअन्तर्गतका विभिन्न जातीय चलचित्र संघ–संस्थाका प्रतिनिधि, निर्देशक समाजका उपाध्यक्ष सुभाष गजुरेल, संगीतकार मिलन मोक्तान, नेपाल गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापा, चलचित्र ‘लालीबजार’ का निर्देशक प्रदीप भट्टराई, निर्देशक साकार पन्त, निर्माता प्रेमकुमार श्रेष्ठ तथा अन्य चलचित्रकर्मी एवं वातावरण संरक्षण अभियन्ताहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका अवसरमा चलचित्र विकास बोर्डले कला, संस्कृति र चलचित्र क्षेत्रको प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्व तथा वातावरण संरक्षणका अभियानमा समेत निरन्तर सक्रिय रहने प्रतिबद्धता दोहोर्‍याएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै