किरात याक्खा विद्यार्थी संघद्वारा ४ दिने कन्टेन्ट क्रिएसन आधारभूत तालिम सुरु
निमा पोङ्स्युवा
धरान।किरात याक्खा विद्यार्थी संघको संयोजनमा ४ दिने कन्टेन्ट क्रिएसन सम्बन्धी आधारभूत तालिम बिहिबारदेखि सुरु भएको छ।
धरान–१६ स्थित किरात याक्खा छुम्मा को केन्द्रीय भवनमा सञ्चालन भइरहेको तालिम धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको हो। तालिममा २० जना युवा कन्टेन्ट क्रिएटरहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।


तालिमको पहिलो दिन सहभागीहरूलाई कन्टेन्ट निर्माणसँग सम्बन्धित सैद्धान्तिक तथा प्रारम्भिक व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षणका क्रममा क्यामेरा एङ्गल, क्यामेराग्राफीका आधारभूत सिद्धान्त, दृश्य निर्माणका विधि तथा डिजिटल प्लेटफर्मका लागि सामग्री उत्पादन गर्ने तरिकाबारे जानकारी दिइएको थियो।
प्रशिक्षक कमान्सेन याम्फुले फेसबुक, युट्युब, रिल्सलगायत सामाजिक सञ्जालका लागि आकर्षक सामग्री तयार गर्ने विधि, भिडियो अन्तर्वार्ता लिने तरिका, पोडकास्ट उत्पादन, म्युजिक भिडियो निर्माणका आधारभूत पक्ष तथा डिजिटल सञ्चारका नयाँ प्रविधिबारे प्रशिक्षण दिएका थिए।

कार्यपालिका सदस्य अनुप देवानका अनुसार तालिमले युवाहरूलाई डिजिटल माध्यममार्फत सिर्जनात्मक अभिव्यक्ति र रोजगारीका अवसरतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।
उनले सहभागीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप प्रदान गर्न विशेष जोड दिइएको बताए।दोस्रो दिन सहभागीहरूलाई पूर्ण रूपमा भिडियो तथा फोटो खिच्ने सम्बन्धी व्यावहारिक प्रशिक्षण दिइनेछ। त्यसैगरी तेस्रो र चौथो दिन भिडियो सम्पादन, अडियो रेकर्डिङ, भ्वाइसओभर, सामग्री प्रस्तुतीकरण तथा प्रकाशन प्रक्रियासम्बन्धी अभ्यासमूलक कक्षा सञ्चालन गरिने आयोजकले जनाएको छ।
तालिम उद्घाटनका क्रममा सहभागीहरू उत्साहपूर्वक प्रशिक्षणमा संलग्न भएको देखिएको थियो। आयोजकका अनुसार चार दिने कार्यक्रमले नयाँ पुस्ताका कन्टेन्ट क्रिएटरहरूलाई डिजिटल सञ्चार क्षेत्रमा आवश्यक आधारभूत ज्ञान र सीप प्रदान गर्ने विश्वास लिइएको छ।













