झापामा प्रहरी प्रशिक्षणको गुणस्तर सुधारबारे अन्तरक्रिया, एआईजी शाहले दिए व्यावसायिक क्षमता अभिवृद्धिमा जोड – Sagarmathapana:: Online News Portal

झापामा प्रहरी प्रशिक्षणको गुणस्तर सुधारबारे अन्तरक्रिया, एआईजी शाहले दिए व्यावसायिक क्षमता अभिवृद्धिमा जोड

   २०८३ जेष्ठ २२ गते  

झापा-राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी शिद्दीविक्रम शाह को प्रमुख आतिथ्यमा झापामा प्रहरी प्रशिक्षणको स्तर, प्रभावकारिता तथा गुणस्तर अभिवृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाको सभाहलमा आयोजित कार्यक्रममा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रहरी संगठनभित्र सञ्चालन भइरहेका तालिमहरूको प्रभावकारिता, प्रशिक्षण प्रणाली सुधार, व्यावसायिक क्षमता विकास तथा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।


अन्तरक्रियाका क्रममा सहभागी प्रहरी कर्मचारीहरूले तालिमका अनुभव, प्रशिक्षणमा देखिएका चुनौती तथा सुधार गर्नुपर्ने पक्षबारे आफ्ना सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्न आधुनिक, व्यवहारिक तथा प्रविधिमैत्री प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी शाहले प्रहरी संगठनको दक्षता, व्यावसायिकता र नागरिकप्रति उत्तरदायी सेवा सुनिश्चित गर्न गुणस्तरीय प्रशिक्षण अपरिहार्य रहेको बताए। उनले समयानुकूल प्रशिक्षण प्रणालीको परिमार्जन गर्दै प्रहरी कर्मचारीको क्षमता विकासमा निरन्तर ध्यान दिनुपर्नेमा जोड दिए।

झापाकी प्रहरी प्रमुख बसुन्धरा खड्का ले प्रहरी कर्मचारीहरूको सुझाव, अनुभव र आवश्यकतालाई समेटेर प्रशिक्षण प्रणालीलाई थप प्रभावकारी तथा परिणाममुखी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिइन्।

कार्यक्रममा प्रशिक्षणका क्रममा देखिएका समस्या, आवश्यक स्रोतसाधन तथा भविष्यमा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उपायबारे समेत छलफल गरिएको थियो। प्रहरी संगठनभित्र व्यावसायिक दक्षता, अनुशासन र सेवा प्रवाहको गुणस्तर अभिवृद्धिमा यस्ता अन्तरक्रियात्मक कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै